काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जनताको आशा र भरोसाअनुसार परिणाम दिन असफल हुने दाबी गर्दै त्यसको वैकल्पिक राजनीतिक शक्तिका रूपमा आफ्नो पार्टीलाई प्रस्तुत गरेका छन्।
पार्टीको प्रथम युवा भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले मुलुकमा परिवर्तनको अपेक्षा राखेर जनताले ठूलो जनमत दिए पनि वर्तमान सरकारको कार्यसम्पादन अपेक्षाअनुसार हुन नसकेको टिप्पणी गरे।
उनले सरकार सफल होस् भन्ने आफूहरूको चाहना रहेको उल्लेख गर्दै सरकारका सकारात्मक काममा समर्थन रहने तर जनअपेक्षाविपरीतका गतिविधिको भने सशक्त प्रतिवाद गरिने बताए।
‘जनताले परिवर्तनको पक्षमा स्पष्ट जनादेश दिएका छन्। हामी सरकार सफल होस् भन्ने चाहन्छौँ। तर यदि जनताका अपेक्षा पूरा भएनन् भने नागरिकलाई निराश हुन दिने छैनौँ,’ उनले भने, ‘जनताका समस्या समाधान गर्ने स्पष्ट कार्ययोजनासहित उज्यालो नेपाल पार्टी अघि बढिरहेको छ।’
घिसिङले नयाँ राजनीतिक शक्तिको विकल्प पुराना दलहरू हुन नसक्ने जिकिर गर्दै रास्वपाप्रति निराश बनेका नागरिकका लागि उज्यालो नेपाल पार्टी नै उपयुक्त विकल्प भएको दाबी गरे। उनले आगामी स्थानीय तह र प्रदेश निर्वाचनमा ठोस योजना तथा कार्यक्रमसहित जनतामाझ जाने तयारी भइरहेको जानकारी दिए।
गत निर्वाचनको अनुभव स्मरण गर्दै उनले छोटो तयारी, प्रतिकूल परिस्थितिसहित विभिन्न कारणले पार्टीले अपेक्षित सफलता हासिल गर्न नसकेको स्वीकार गरे। तथापि, चुनावी परिणामभन्दा जनविश्वासलाई महत्त्वपूर्ण मान्दै उज्यालो नेपाल पार्टीले नागरिकको मनमा आफ्नो स्थान बनाइसकेको दाबी गरे।
‘हामी निर्वाचनमा अपेक्षित नतिजा ल्याउन सकेनौँ, तर जनताको विश्वास जित्न सफल भयौँ,’ उनले भने, ‘उज्यालो नेपाल पार्टी हारेर पनि जितेको पार्टी हो। नागरिकको मनमा हाम्रो पार्टीप्रति आशा र भरोसा अझै कायम छ।’
घिसिङले एक पटकको हारलाई अन्तिम परिणामका रूपमा नलिइएको स्पष्ट पार्दै पार्टी आगामी दिनमा अझ सशक्त रूपमा अघि बढ्ने बताए। उनले उज्यालो नेपाल पार्टी हराएको वा निष्क्रिय भएको भन्ने टिप्पणीहरूलाई अस्वीकार गर्दै पार्टी निरन्तर संगठन विस्तार र जनसम्पर्क अभियानमा सक्रिय रहेको दाबी गरे।
‘हारबाट पाठ सिक्दै अब जितको यात्रातर्फ अघि बढिरहेका छौँ,’ उनले भने, ‘अँध्यारोपछि उज्यालो आउने प्रकृतिको नियमजस्तै उज्यालो नेपाल पार्टी पनि निरन्तर अगाडि बढिरहनेछ।’
प्रकाशित मिति: २२ जेष्ठ २०८३, शुक्रबार













प्रतिक्रिया