जनकपुर। नगर अधिवेशनलाई लिएर पार्टीभित्रै किचलो बढेपछि राष्ट्रिय स्वतन्त्र पार्टी धनुषा को पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ ।
शुक्रबार जनकपुरधामस्थित जिल्ला पार्टी कार्यालयमा रास्वपाका नेता तथा कार्यकर्ताहरूले ताला लगाएका हुन् ।
धनुषाको गणेशमान चारनाथ नगरपालिकामा नगर अधिवेशनलाई लिएर गुटबन्दी सुरु भएपछि दुई पक्षले छुट्टाछुट्टै अधिवेशन गरेर पदाधिकारी तोकेका थिए ।
पहिलो पक्षले अधिवेशन गरी प्रतिक नेपालसहितको समिति चयन गरेको थियो भने पछि अर्को पक्षले आफूलाई आधिकारिक रहेको दाबी गर्दै छुट्टै अधिवेशन गरेको थियो ।
जेठ १७ गते सम्पन्न भएको अधिवेशनमा जिल्ला सभापति र निर्वाचन आयोगको सदस्य सहभागी रहेका थिए ।
अधिवेशनमा राकेश यादवसहितको समिति गठन भएको थियो । यादवसहितको समितिको नाम रास्वपाको वेबसाइटमा समेत अपलोड भएको थियो ।
पछि फेरि जेठ २० गते वेबसाइटबाट उक्त समितिको नाम हटाइएपछि विवाद सृजना भएको हो ।
आफूहरूको नाम वेबसाइटबाट हटाइएको भन्दै राकेश यादवसहितको समितिका पदाधिकारी र गणेशमान चारनाथ नगरपालिकाका रास्वपाका कार्यकर्ता तथा सदस्यहरूले शुक्रबार पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन् ।
राकेश यादवका अनुसार रास्वपामा गुटबन्दी हुनु नराम्रो हो । उनले दुवै पक्षलाई समेटेर पुनः एक अधिवेशन गर्नुपर्ने माग राखेका छन् ।
उनले अधिवेशनको विवाद समाधान गर्न केन्द्रीय कार्यालयमा सम्पर्क गर्दा जिल्लास्थित कार्यालयमार्फत समस्या समाधान गर्न निर्देशन दिइएको बताए ।
यादवले जिल्ला पार्टी कार्यालयमा कोही नहुनु र जिल्ला सभापति सहित अन्य पदाधिकारी पनि सम्पर्कमा आउन नखोज्नु दुखद भएको बताए ।
यादवले निष्पक्ष रूपमा पुनः अधिवेशनको विकल्प नरहेको बताए । उनले पुनः अधिवेशन नभएसम्म आफूहरू ताला नखोल्ने चेतावनी दिएका छन् ।
प्रकाशित मिति: २२ जेष्ठ २०८३, शुक्रबार












प्रतिक्रिया