काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले परराष्ट्र नीति कुनै पार्टी विशेषको नभई सम्पूर्ण देशको हुने बताएका छन्।
भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भारत भ्रमण सकेर शुक्रबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफ्नो भ्रमण पूर्ण रूपमा पारदर्शी रहेको दाबी गरे।
उनका अनुसार भारत भ्रमणका क्रममा बन्द कोठामा कुनै लुकिछिपी भेटघाट नभएको र सबै कार्यक्रम सार्वजनिक तथा स्पष्ट ढंगले सम्पन्न गरिएको हो।
लामिछानेले नेपालले विकासको गति समात्नुपर्ने र छिमेकी मुलुकहरूको विकास अनुभवबाट सिक्नुपर्ने आवश्यकता रहेको बताए।
उनले विगतका सरकारहरूले सुरु गरेका राम्रा विकास कार्यलाई निरन्तरता दिँदै अल्झिएका आयोजना पूरा गर्नुपर्नेमा जोड दिए।
भ्रमणका क्रममा धार्मिक पर्यटन, कनेक्टिभिटी र सूचना प्रविधि (आईटी) क्षेत्रका सम्भावनाबारे भारतीय पक्षसँग छलफल भएको उनले जानकारी दिए।
परराष्ट्र नीतिसम्बन्धी प्रश्नमा उनले स्पष्ट रूपमा भने, “कुनै पनि विषय कूटनीतिक माध्यमबाट समाधान गर्ने हो। परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ।”
पत्रकारले उठाएको सीमा विवाद तथा राजनीतिक टिप्पणीबारे उनले कूटनीति र मिडियाबाजी फरक विषय भएको उल्लेख गर्दै संवेदनशील विषयहरू जिम्मेवार ढंगले सम्बोधन गर्नुपर्ने धारणा राखे।
प्रधानमन्त्री बन्ने चर्चा तथा आशीर्वाद लिन भारत गएको भन्ने आरोपबारे उनले त्यसलाई अस्वीकार गर्दै चुनावअघि जनतासँग गरेको प्रतिबद्धतामा आफूहरू अडिग रहेको दोहोर्याए।
प्रकाशित मिति: २२ जेष्ठ २०८३, शुक्रबार











प्रतिक्रिया