काठमाडौं। बजेट घोषणा हुन केही दिनअघि विभिन्न भन्सार नाकाबाट विद्युतीय सवारी साधनको जाँचपास भएको विषयलाई लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई जोड्दै फैलाइएका अफवाह र चरित्रहत्याको प्रयास भएको भन्दै अर्थमन्त्रीको सचिवालयले आपत्ति जनाएको छ ।

अर्थमन्त्रीका स्वकीय उपसचिव तथा जनसम्पर्क सल्लाहकार नवीन ढुङ्गानाले जारी गरेको विज्ञप्तिमा रसुवागढी भन्सार नाकामा भन्सार बिन्दुमै नआएका सवारी साधनको जाँचपास भएको भन्ने विषयमा मन्त्रालयले गठन गरेको छानबिन समितिले अनुसन्धान गरिरहेको जनाइएको छ ।

advertisement

जेठ २० गते प्रमुख भन्सार अधिकृतसहित ९ जना कर्मचारीलाई जिम्मेवारीबाट हटाएर भन्सार विभागमा तानिएको उल्लेख गरिएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको सचिवालयले स्पष्ट पारेको छ ।

मुस्ताङको कोरला नाकाबाट जाँचपास भएका विद्युतीय सवारी साधनको विषयमा पनि मन्त्रालयद्वारा गठित छानबिन समितिले स्थलगत अनुसन्धान अघि बढाइरहेको छ ।

मन्त्रालय र भन्सार विभागका उपसचिवहरूको नेतृत्वमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीसमेत सहभागी अनुसन्धान टोली फिल्डमा खटिएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा भन्सार छलीको आशंकामा केही सवारी साधन र आयातकर्ता कम्पनीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । यसको विस्तृत विवरण सार्वजनिक गरिने जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यस्तो कार्यमा संलग्न केहीमाथि कानुनी उपचारको प्रक्रिया सुरु गरिसकिएको छ भने केहीमाथि कानुनी उपचार खोजिने चरणमा छ ।’

अर्थमन्त्री र मन्त्रालयसँग सम्बन्धित विषयमा समाचार बनाउँदा जिम्मेवार अधिकारीसँग सत्यतथ्य बुझेर मात्र लेख्न सचिवालयले सम्बन्धित सबै पक्षसँग अनुरोध गरेको छ ।

प्रकाशित मिति: २३ जेष्ठ २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com