काठमाडौं। नेपालमा बर्डफ्लु (एच५एन१) संक्रमण १० जिल्लामा फैलिएको छ । हालसम्म ५५ वटा व्यावसायिक तथा घरेलु पक्षींपालन फार्ममा संक्रमण पुष्टि भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतका निकायहरूका अनुसार गत चैत ४ गते झापाको सुन्दरहरैंचा–४ मा रहेको एउटा लेयर कुखुरा फार्मबाट पहिलो पटक संक्रमण देखिएको थियो ।

advertisement

त्यसपछि संक्रमण कोशी प्रदेशबाट क्रमशः मधेश, बागमती र अन्य प्रदेशमा फैलिएको छ ।

अहिलेसम्म संक्रमणका कारण ४ लाख ७९ हजार १५६ वटा पक्षी नष्ट गरिएको छ भने ६ लाख ९४ हजार १९३ वटा अण्डा र १ लाख ८२ हजार ७७५ किलोग्राम दाना पनि नष्ट गरिएको छ ।

सबैभन्दा बढी प्रभावित जिल्ला सुनसरी रहेको छ, जहाँ २३ वटा फार्म प्रभावित भएका छन् । सुनसरीमा मात्र २ लाख ८५ हजार ५६४ वटा पक्षी र ४ लाख २७ हजार ५८० वटा अण्डा नष्ट गरिएको छ ।

मोरङमा ११ वटा फार्म प्रभावित हुँदा १ लाख १ हजार ८६० वटा पक्षीं नष्ट गरिएका छन् ।

काठमाडौं उपत्यकामा पनि संक्रमण फैलिएको छ । काठमाडौंमा ८, ललितपुरमा ३ र भक्तपुरमा २ वटा फार्म प्रभावित भएका छन् । काठमाडौंमा मात्र ३९ हजार ४८१ वटा पक्षी नष्ट गरिएको छ ।

संक्रमण देखिएका अन्य जिल्लामा चितवन, झापा, बारा, पश्चिम नवलपरासी र महोत्तरी रहेका छन् ।

संक्रमण नियन्त्रणका लागि प्रभावित क्षेत्रका पक्षीं नष्ट गर्ने, अण्डा तथा दाना व्यवस्थापन गर्ने, सरसफाइ र निसंक्रमण अभियान सञ्चालन गर्ने जस्ता काम भइरहेका छन् ।

विशेषज्ञहरूका अनुसार जंगली चराचुरुङ्गीको आवतजावत, फार्म नजिक सिमसार क्षेत्र, जैविक सुरक्षा मापदण्डको कमजोर पालना, सवारीसाधन तथा बाहिरी व्यक्तिको अनियन्त्रित प्रवेश र प्रयोग भएका सामग्रीको उचित व्यवस्थापन नहुनु नै संक्रमण फैलिनुका प्रमुख कारण हुन् ।

कोशी प्रदेशमा संक्रमण नियन्त्रणको चरणमा पुगे पनि काठमाडौं उपत्यकामा प्रभावित फार्मको संख्या बढ्दै गएकोले थप सतर्कता अपनाउनुपर्ने आवश्यकता देखिएको छ ।

पशु स्वास्थ्य अधिकारीहरूले किसानहरूलाई फार्ममा बाहिरी व्यक्तिको प्रवेश नियन्त्रण गर्न, जंगली चरासँग सम्पर्क हुन नदिन र कुनै असामान्य मृत्यु देखिए तत्काल सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गरेका छन् ।

प्रकाशित मिति: २३ जेष्ठ २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com