काठमाडौं। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को २९औँ वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री बालेन्द्र शाह र परराष्ट्रमन्त्री शिशिर खनालले शुभकामना सन्देश जारी गरेका छन् ।
प्रधानमन्त्री बालेनले बिमस्टेकलाई यस क्षेत्रको विविधता, जीवन्तता र साझा समृद्धिको मञ्चको रूपमा वर्णन गर्दै अर्थतन्त्र, यातायात, व्यापार र डिजिटल सञ्जाल विस्तारमा यसको भूमिकामा जोड दिएका छन् ।
उनले पर्यटन प्रवर्द्धन गर्न, युवा तथा उद्यमीहरूका लागि अवसर सिर्जना गर्न र जलवायु परिवर्तन तथा प्राकृतिक प्रकोपविरुद्ध लड्न सक्ने क्षमताको विकास गर्न थप प्रयास आवश्यक रहेको बताएका छन् ।
विपत्तिमा र आर्थिक समृद्धिको क्षेत्रमा सदस्य राष्ट्रहरूसँग मिलेर काम गर्न नेपाल प्रतिबद्ध रहेको पनि प्रधानमन्त्रीको भनाइ छ ।
परराष्ट्रमन्त्री शिशिर खनालले सन् १९९७ मा स्थापना भएदेखि बिमस्टेकले हासिल गरेको निरन्तर प्रगतिको प्रशंसा गर्दै क्षेत्रीय सहयोग सुदृढ गर्न बिमस्टेक बडापत्रको महत्वमा जोड दिएका छन् ।
उनले हालसम्मका उपलब्धिहरूलाई संस्थागत गर्न, साझेदारी सुदृढ गर्न र कार्यान्वयन क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन् ।
बिमस्टेकको वार्षिक उत्सवले क्षेत्रीय सहयोगको भावना अझ मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ ।
प्रकाशित मिति: २३ जेष्ठ २०८३, शनिबार













प्रतिक्रिया