नयाँ दिल्ली। कक्रोच जनता पार्टी (सीजेपी) ले शनिबार जन्तर मन्तरमा आयोजना गरेको प्रदर्शनका क्रममा दिल्ली प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार आन्दोलनका समर्थक र विरोधी समूहबीच तनाव उत्पन्न हुन सक्ने सूचनापछि सावधानीस्वरूप उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

advertisement

सीजेपीका संस्थापक अभिजीत दिप्केको नेतृत्वमा भएको प्रदर्शनमा सयौँ विद्यार्थी र युवाहरू सहभागी भएका थिए ।

प्रदर्शनकारीहरूले विभिन्न परीक्षा तथा भर्ती प्रक्रियामा भएको अनियमितताको विरोध गर्दै केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरेका थिए ।

स्थितिलाई नियन्त्रणमा राखिएको र कुनै अप्रिय घटना नभएको प्रहरीले बताएको छ ।

प्रदर्शनमा सहभागी धेरै युवाले कक्रोचको मुखुण्डो लगाएका थिए भने केहीले फूल बोकेका थिए । विद्यालयका विद्यार्थीहरू पनि अभिभावकसँग प्रदर्शनमा सहभागी भएका थिए ।

यसैबीच, दिप्केले सरकारमाथि आन्दोलनका माग सम्बोधन गर्नुको सट्टा सामाजिक सञ्जाल गतिविधिमाथि ध्यान केन्द्रित गरेको आरोप लगाए ।

उनले आफ्नो सम्बोधनका क्रममा सीजेपीका सामाजिक सञ्जाल एकाउन्टहरू ह्याक गरिएको र पोस्टहरू हटाइएको दाबी गरे ।

‘तपाईंहरूले हाम्रा पोस्ट हटाउन सक्नुहुन्छ, तर हामीलाई मेटाउन सक्नुहुन्न,’ दिप्केले प्रदर्शनकारीहरूलाई सम्बोधन गर्दै भनेका छन् ।

प्रदर्शनलाई मध्यनजर गर्दै जंतर मंतर र राजधानीका अन्य संवेदनशील क्षेत्रमा कडा सुरक्षा व्यवस्था गरिएको छ । प्रहरीले प्रदर्शनस्थल वरिपरि ब्यारिकेड राखेर सुरक्षा निगरानी बढाएको छ ।

नीट, सीयूईटी, सीबीएसई तथा एसएससीजस्ता परीक्षा र भर्ती प्रक्रियामा अनियमितता भएको आरोपपछि सीजेपी युवाहरूको अनलाइन अभियान तीब्र बनेको छ । पछिल्लो एक महिनादेखि संगठनले परीक्षा प्रणालीमा पारदर्शिता र जवाफदेहिताको माग गर्दै अभियान सञ्चालन गरिरहेको छ ।

प्रकाशित मिति: २३ जेष्ठ २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com