काठमाडौ । कास्की कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले नौ महिनापछि म्याग्दीबाट पक्राउ गरेको छ।
जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका पोखरा महानगरपालिका–९ निवासी ५४ वर्षीय कृष्णबहादुर सार्की (लक्ष्मण मगराती) लाई बेनी नगरपालिका–९ गलेश्वरबाट पक्राउ गरिएको हो।
प्रहरीका अनुसार शुक्रबार राति गलेश्वर क्षेत्रमा शंकास्पद अवस्थामा हिँडिरहेको बेला सार्कीलाई नियन्त्रणमा लिइएको थियो। आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि उनलाई बाँकी कैद सजाय भुक्तानका लागि कारागार कार्यालय बेनी पठाइएको छ।
प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार सार्कीलाई कास्की जिल्ला अदालतले सात वर्ष कैद सजाय सुनाएको थियो। उनी पोखरा कारागारमा सह–नाइकेको जिम्मेवारीमा कार्यरत रहेका बेला गत वर्ष भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको क्रममा कारागारबाट फरार भएका थिए।
अनुसन्धानका क्रममा उनी सोही घटनामा कारागारबाट भागेको पुष्टि भएपछि बाँकी सजाय भुक्तानका लागि पुनः कारागार चलान गरिएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २३ जेष्ठ २०८३, शनिबार













प्रतिक्रिया