काठमाडौं । रौतहटका वनकर्मीमाथि आक्रमण गर्ने मुख्य आरोपी वीरगन्जबाट पक्राउ
रौतहटमा वन संरक्षणका लागि गस्तीमा खटिएको टोलीमाथि आक्रमण गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। गुजरा नगरपालिका–२, मैढा निवासी २६ वर्षीय राजकिशोर साहलाई प्रहरीले वीरगन्जबाट नियन्त्रणमा लिएको हो।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र प्रहरी चौकी बिर्ता, वीरगन्जको संयुक्त टोलीले शनिबार साँझ लुकिछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। हाल साह इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको हिरासतमा रहेका छन्।
सहायक वन अधिकृत राजकुमार चौधरीको जाहेरीका आधारमा राजकिशोर साहसहितका व्यक्तिविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता भएको थियो। यसअघि जिल्ला अदालत रौतहटले उनीहरूको पक्राउका लागि आदेश जारी गरेको थियो।
गत जेठ १९ गते राति वन क्षेत्रमा काठ चोरी भइरहेको सूचनापछि डिभिजन वन कार्यालय र रङ्गपुर साझेदारी वन उपभोक्ता समितिको संयुक्त गस्ती टोली घटनास्थल पुगेको थियो। त्यस क्रममा राजकिशोरसहितको समूहले गस्ती टोलीमाथि आक्रमण गरेको आरोप छ।
आक्रमणबाट सहायक वन अधिकृत राजकुमार चौधरी, वन रक्षक सुरेन्द्र चौधरी, समितिका सदस्य अर्जुन चौधरी र विमल थापा तथा गस्ती गाडीका चालक अरविन्द पटेल घाइते भएका थिए।
वन क्षेत्रभित्र सक्रिय काठ तस्करी नियन्त्रणका लागि खटिएका कर्मचारीमाथि नै आक्रमण भएपछि रौतहटका वन क्षेत्रमा सुरक्षा र तस्करी नियन्त्रणको विषय पुनः चर्चामा आएको छ।
प्रकाशित मिति: २४ जेष्ठ २०८३, आइतबार













प्रतिक्रिया