काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले खाद्यजन्य रोगहरू अझै पनि विश्वव्यापी रूपमा गम्भीर जनस्वास्थ्य समस्याका रूपमा रहेको उल्लेख गर्दै त्यसको प्रभावकारी नियन्त्रणका लागि सरकार प्रतिबद्ध रहेको बताएकी छन्।
विश्व खाद्य स्वच्छता दिवसको अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै मन्त्री मेहताले सुरक्षित र स्वच्छ खाद्य प्रणालीमार्फत नागरिकको स्वास्थ्य संरक्षण तथा जीवनस्तर सुधार गर्न सरकारले विभिन्न कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइरहेको जानकारी दिइन्।
उनका अनुसार खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को प्रभावकारी कार्यान्वयन सरकारको प्रमुख प्राथमिकतामध्ये एक हो। साथै खाद्य परीक्षण प्रयोगशालाको क्षमता विस्तार, जोखिममा आधारित बजार अनुगमन प्रणालीको विकास तथा आवश्यक नीतिगत सुधारका कामलाई तीव्रता दिइनेछ।
मन्त्री मेहताले खाद्यपदार्थको उत्पादन, प्रशोधन, ढुवानी, भण्डारणदेखि उपभोगसम्मका सम्पूर्ण चरणमा स्वच्छता कायम गर्नु राज्य, व्यवसायी र उपभोक्ता सबैको साझा जिम्मेवारी भएको उल्लेख गरिन्। उनले असल कृषि अभ्यास, असल उत्पादन अभ्यास तथा वैज्ञानिक भण्डारण प्रणाली अपनाउन सके खाद्य सुरक्षामा उल्लेखनीय सुधार आउने विश्वास व्यक्त गरिन्।
यस्ता अभ्यासले बजारमा गुणस्तरीय खाद्यपदार्थको उपलब्धता सुनिश्चित गर्नुका साथै दूषित तथा अस्वस्थ्यकर खानाका कारण हुने स्वास्थ्य जोखिम र आर्थिक क्षति न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।
मन्त्री मेहताले विश्व खाद्य स्वच्छता दिवसले खाद्य शृङ्खलासँग आबद्ध उत्पादक, व्यवसायी, नियामक निकाय तथा उपभोक्तालाई खाद्य सुरक्षाको महत्त्वबारे थप सचेत र जिम्मेवार बन्न प्रेरणा दिने अपेक्षा व्यक्त गरिन्।
यस वर्ष नेपालसहित विश्वभर ‘सबैतिर स्वच्छ खानपान, खाद्यजन्य समस्याको पहिचान’ भन्ने नाराका साथ विश्व खाद्य स्वच्छता दिवस मनाइँदै छ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार हरेक वर्ष विश्वभर करिब ६० करोड मानिस दूषित खाद्यपदार्थका कारण बिरामी पर्ने गरेका छन् भने करिब चार लाख २० हजार जनाले ज्यान गुमाउने गरेका छन्। यही तथ्याङ्कले खाद्य स्वच्छता र सुरक्षित खानपानको आवश्यकता झन् गम्भीर रूपमा उजागर गरेको छ।
प्रकाशित मिति: २४ जेष्ठ २०८३, आइतबार













प्रतिक्रिया