काठमाडौंमा गुञ्जियो कर्णाली

कर्णाली पर्यटन तथा सांस्कृतिक महोत्सव–२०८३ भव्य रूपमा सम्पन्न



काठमाडौं। काठमाडौंमा आयोजित कर्णाली पर्यटन तथा सांस्कृतिक महोत्सव–२०८३ भव्य रूपमा सम्पन्न भएको छ। महोत्सवले कर्णाली प्रदेशको अनुपम प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति, भाषा, साहित्य, कला तथा स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रभावकारी रूपमा प्रस्तुत गरेको आयोजकले जनाएको छ।

भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा नरहरिनाथ गाउँपालिका, कालिकोटका अध्यक्ष नगेन्द्रबहादुर बिष्टको अध्यक्षता तथा नेपाली काङग्रेसका कार्यवाहक सभापति तथा पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

advertisement

महोत्सवमा कर्णालीका १० वटै जिल्लाहरु कालिकोट, मुगु, जुम्ला, हुम्ला, डोल्पा, जाजरकोट, रुकुम पश्चिम, सल्यान, दैलेख र सुर्खेतका मौलिक कला, सांस्कृतिक, भेषभुषा, परम्परा र जीवनशैली अनुसारका झल्काउने झाँकीहरू प्रस्तुत गरिएको थियो। देउडा, झोडा, हुड्के नाच र मयुर नाच लगायतका प्रस्तुतिले कर्णालीको जीवित सांस्कृतिक पहिचानलाई उजागर गरेको थियो।

महोत्सवमा रारा ताल, शे–फोक्सुण्डो, काँक्रेविहार, देउती बज्यै र दैलेखको ज्वालामुखी, खप्तड क्षेत्रलगायतका प्रमुख पर्यटकीय गन्तव्यका तस्बिर तथा स्थानीय उत्पादनहरूको प्रदर्शनी सहित प्रचारप्रसार गरिएका थिए। कर्णालीको प्राकृतिक सम्पदा र सांस्कृतिक विविधतालाई एउटै मञ्चमार्फत विश्वसामु चिनाउने प्रयास महोत्सवको मुख्य आकर्षण बनेको आयोजकले जनाएको छ।

महोत्सवको सांगीतिक प्रस्तुतिमा राष्ट्रियस्तरका कलाकारहरूको सहभागिता रहेको थियो। कलाकारहरूमा राजु परियार, रामजी खाँड, महेंद्र शाही रास्कोटी, ईब्सल संज्याल, बिपना सिंह, प्रकाश अधिकारी र संगिता बडुवाल लगायतका कलाकारहरूको प्रस्तुतिले कार्यक्रमलाई थप जीवन्त बनाएको आयोजकले जनाएको छ।

प्रमुख अतिथि पूर्णबहादुर खड्काले कर्णालीको समृद्धिलाई नेपालको समग्र समृद्धिसँग जोड्दै यसको भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याएका हुन्। उनले कर्णालीलाई बुझ्न त्यस क्षेत्रमा पुग्नैपर्ने उल्लेख गर्दै भौगोलिक विकटता र राज्यको सीमित पहुँचका कारण कर्णाली पछाडि परेको धारणा राखेका थिए।

महोत्सवले कर्णालीलाई दुर्गम भूगोलका रूपमा मात्र नभई सभ्यता, संस्कृति, प्राकृतिक सम्पदा र अपार सम्भावनाको केन्द्रका रूपमा स्थापित गर्ने सशक्त सन्देश दिएको आयोजकको दाबी छ। पर्यटन प्रवर्द्धन, सांस्कृतिक संरक्षण र राष्ट्रिय एकताको उद्देश्य बोकेको यो महोत्सव कर्णालीलाई विश्व पर्यटन मानचित्रमा थप मजबुत रूपमा स्थापित गर्ने विश्वास गरिएको छ।

शनिबार सप्पन्न महोत्सवको आयोजना कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका र कर्णाली कलाकार प्रतिस्ठान काठमाडौले गरेका हुन् भने कार्यक्रमको प्रवर्द्धन नेपाल पर्यटन बोर्डले गरेको नरहरिनाथ गाउँपालिका प्रवक्ता प्रदिप बोहोराले जानकारी दिए ।

प्रकाशित मिति: २४ जेष्ठ २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com