काठमाडौं। पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वीले आइतबार इरानका विदेशमन्त्री अब्बास अराघचीसँग तेहरानमा महत्वपूर्ण भेटवार्ता गरेका छन् ।
भेटमा क्षेत्रीय सुरक्षा अवस्था, अमेरिका–इरान सम्बन्ध र जारी शान्ति प्रक्रियाबारे विस्तृत छलफल भएको बताइएको छ । पाकिस्तानले अमेरिका र इरानबीच अप्रिलदेखि लागू भएको युद्धविरामलाई दीर्घकालीन बनाउन मध्यस्थकर्ताको भूमिका खेल्दै आएको छ ।
भेटअघि शनिबार राति मोहसिन नक्वीले इरानका गृहमन्त्री एस्कन्दर मोमेनीसँग पनि भेट गरेका थिए । त्यस अवसरमा उनले पाकिस्तानका सेना प्रमुख असिम मुनिरको सन्देश इरानका सर्वोच्च नेता आयातोल्लाह मोज्तबा खामेनीसमक्ष पुर्याउने बताएका थिए ।
यद्यपि अमेरिका र इरानबीच अझै पनि धेरै महत्वपूर्ण मुद्दाहरूमा मतभेद कायम छ । इरानको युरेनियम संवर्धन कार्यक्रम, संवर्धित युरेनियमको मौज्दात, विदेशी बैंकहरूमा रोक्का रहेका अर्बौं डलर बराबरका इरानी सम्पत्ति फुकुवा र स्ट्रेट अफ हर्मुजको समुद्री आवागमन स्वतन्त्रता जस्ता विषयमा सहमति जुट्न सकेको छैन ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार एक अन्तर्वार्तामा इरानीहरू बलिया र गर्विला रहेको उल्लेख गर्दै अन्ततः उनीहरूले कहिल्यै स्वीकार नगर्ने खालका कदम चाल्न बाध्य हुन सक्ने बताएका छन् ।
ट्रम्पले अमेरिका र इरानबीचको समझदारीपत्र अन्तिम रूप दिन केही समय लाग्न सक्ने भन्दै धैर्य अपनाउन आफू तयार रहेको बताएका थिए ।
प्रकाशित मिति: २४ जेष्ठ २०८३, आइतबार













प्रतिक्रिया