गोरखा । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता सुधन गुरुङले मुलुकको विकास र समृद्धिका लागि राजनीतिक दलहरूबीच सहकार्यको संस्कृति आवश्यक रहेको बताएका छन्। उनले प्रतिपक्षको भूमिका केवल विरोधमा सीमित हुन नहुने भन्दै जनहितका काममा सबै दलले साझा जिम्मेवारी निर्वाह गर्नुपर्ने धारणा राखे।
रास्वपा गोरखाको प्रथम जिल्ला अधिवेशन उद्घाटन समारोहलाई आइतबार सम्बोधन गर्दै गुरुङले देश निर्माणको अभियानमा राजनीतिक प्रतिस्पर्धाभन्दा सहकार्यलाई प्राथमिकता दिनुपर्ने बताए। उनका अनुसार सकारात्मक र जनमुखी काममा सत्ता र प्रतिपक्ष दुवैले समान रूपमा साथ दिनुपर्छ।
‘राम्रो कामलाई सबै राजनीतिक दलले समर्थन गर्नुपर्छ,’ उनले भने, ‘विरोधका लागि मात्र विरोध गर्ने संस्कृतिले देशलाई अघि बढाउन सक्दैन।’
गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका गुरुङले निर्वाचनका क्रममा जनतासामु गरेका प्रतिबद्धताबाट पछि नहट्ने स्पष्ट पारे। आफूले व्यक्त गरेका वाचा पूरा गर्न निरन्तर प्रयासरत रहने उनको भनाइ थियो।
‘मैले जनतासँग गरेको प्रतिबद्धता पहिले पनि थियो, अहिले पनि छ र भविष्यमा पनि रहनेछ,’ उनले भने, ‘गोरखावासीले मलाई तस्बिर खिच्न वा पदको प्रतिष्ठा देखाउन होइन, काम गर्नका लागि निर्वाचित गरेका हुन् भन्ने कुरा म राम्ररी बुझेको छु।’
जनताका समस्या र आवश्यकतामा प्रत्यक्ष रूपमा काम गर्न निर्वाचन क्षेत्रमा छिट्टै सचिवालय स्थापना गर्ने तयारी भइरहेको उनले जानकारी दिए। सचिवालयमार्फत स्थानीय तहका समस्या, विकासका आवश्यकता तथा जनगुनासाहरूलाई व्यवस्थित रूपमा सम्बोधन गरिने उनले बताए।
जिल्लामा अपेक्षित बजेट नआएको विषयमा बारम्बार गुनासो सुनिएको उल्लेख गर्दै गुरुङले विकास र स्रोत वितरणको मूल्यांकन गर्दा आफ्नो हिस्सामात्र नभई समग्र सन्तुलनलाई पनि ध्यान दिनुपर्ने धारणा व्यक्त गरे।
‘आफ्नो थालमा कति पर्यो भनेर मात्र हेर्ने होइन, अरूको थालबाट कति घट्यो वा बढ्यो भन्ने पक्ष पनि हेर्नुपर्छ,’ उनले भने।
गुरुङले रास्वपा मुलुकको रूपान्तरण र सुशासनको लक्ष्यसहित राजनीति गरिरहेको पार्टी भएको उल्लेख गर्दै जनअपेक्षाअनुसार परिणाम दिने गरी काम गर्न सबै नेता तथा कार्यकर्तालाई आग्रह गरे।
प्रकाशित मिति: २४ जेष्ठ २०८३, आइतबार













प्रतिक्रिया