धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसको तर्फबाट सहभागी मन्त्रीहरूको जिम्मेवारी पुनर्गठन गर्ने विषयमा कांग्रेस संसदीय दलभित्र गम्भीर छलफल सुरु भएको छ। यही विषयलाई केन्द्रमा राखेर आइतबार कांग्रेस संसदीय दलको बैठक बसेको हो।

मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकमा सरकारको वर्तमान संरचना, मन्त्रीहरूको कार्यसम्पादन तथा सम्भावित मन्त्रिमण्डल पुनर्गठनबारे छलफल भइरहेको स्रोतले जनाएको छ।

advertisement

स्रोतका अनुसार कांग्रेसले सरकारमा प्रतिनिधित्व गरिरहेका केही मन्त्रीलाई फिर्ता बोलाएर नयाँ अनुहारलाई अवसर दिने विषयमा आन्तरिक परामर्श अघि बढाएको छ। प्रदेश सरकारभित्र देखिएको राजनीतिक असन्तुष्टि र दलभित्रको विवाद व्यवस्थापनका लागि मन्त्रिपरिषद् पुनर्गठनलाई विकल्पका रूपमा हेरिएको बताइन्छ।

केही समयअघि कांग्रेसकै प्रदेशसभा सदस्यहरूको एक समूहले मुख्यमन्त्री शाहविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको थियो। यद्यपि, उक्त प्रस्तावको सामना गर्दै मुख्यमन्त्री शाहले आफ्नो नेतृत्व कायम राख्न सफल भए पनि पार्टीभित्रको असन्तुष्टि पूर्ण रूपमा अन्त्य हुन सकेको छैन।

यही पृष्ठभूमिमा पार्टीभित्रको आन्तरिक समीकरण मिलाउने र असन्तुष्ट पक्षलाई समेत समेट्ने रणनीतिअन्तर्गत मन्त्री हेरफेरको तयारी भइरहेको स्रोतको दाबी छ। विशेषगरी यसअघि अविश्वास प्रस्तावको पक्षमा रहेका केही सांसदलाई सरकारमा सहभागी गराउने विकल्पबारे समेत छलफल भइरहेको बताइएको छ।

संसदीय दलको बैठकबाट हाल कार्यरत मन्त्रीहरूलाई फिर्ता बोलाउने तथा नयाँ मन्त्रीहरूको नाम सिफारिस गर्ने निर्णय हुन सक्ने सम्भावना रहेको स्रोतले जनाएको छ। यद्यपि, बैठकको अन्तिम निष्कर्ष सार्वजनिक भइसकेको छैन।

प्रदेश सरकारको आगामी राजनीतिक दिशा र कांग्रेसभित्रको शक्ति सन्तुलनका दृष्टिले यो बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रकाशित मिति: २४ जेष्ठ २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com