काठमाडौं । अब निजामती कर्मचारी, अवकाशप्राप्त कर्मचारी तथा उनीहरूका आश्रित परिवारले काठमाडौं धाउनुपर्ने बाध्यता कम हुने भएको छ। सरकारले निजामती कर्मचारी अस्पतालको स्वास्थ्य सेवा प्रदेशस्तरसम्म विस्तार गर्दै प्रदेश अस्पतालमार्फत नै उपचार सुविधा उपलब्ध गराउने व्यवस्था लागू गर्न थालेको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) काठमाडौंले प्रदान गर्दै आएको स्वास्थ्य सेवा र सहुलियतलाई क्रमशः प्रदेशस्तरमा विस्तार गर्ने योजना अघि बढाएको हो।

advertisement

मन्त्री प्रतिभा रावलका अनुसार काठमाडौं उपत्यकाबाहिर कार्यरत तथा बसोबास गर्ने निजामती कर्मचारी, अवकाशप्राप्त कर्मचारी र उनीहरूका परिवारलाई सहज पहुँचमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले यो व्यवस्था लागू गरिएको हो।

मन्त्रालयले गुणस्तरीय, सुलभ र पहुँचयोग्य स्वास्थ्य सेवा सुनिश्चित गर्न विभिन्न प्रदेश अस्पतालहरूसँग सहकार्य सुरु गरेको जनाएको छ। पहिलो चरणमा मधेश प्रदेशका सेवाग्राहीका लागि पर्सास्थित नारायणी अस्पताल र बागमती प्रदेशका लागि चितवनस्थित भरतपुर अस्पताललाई सेवा प्रदायक अस्पतालका रूपमा चयन गरिएको छ।

आइतबार मन्त्रालय र सम्बन्धित अस्पतालबीच सम्झौता सम्पन्न भएसँगै सोमबारदेखि सेवा सञ्चालनमा आउनेछ। अब यी अस्पतालहरूबाट उपचार गराउँदा निजामती कर्मचारी अस्पताल काठमाडौंले उपलब्ध गराउँदै आएको छुट तथा सहुलियतसमेत प्राप्त हुने मन्त्रालयले जनाएको छ।

सेवा लिनका लागि निजामती कर्मचारी, अवकाशप्राप्त कर्मचारी वा उनीहरूका आश्रित परिवारसँग निजामती कर्मचारी अस्पतालबाट जारी गरिएको आधिकारिक परिचयपत्र अनिवार्य रूपमा हुनुपर्नेछ।

मन्त्रालयका अनुसार मधेश र बागमती प्रदेशपछि अन्य प्रदेशमा पनि यही व्यवस्था विस्तार गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। यसका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग समन्वय गरी सेवा प्रदायक अस्पतालहरूको सूचीकरणसमेत सम्पन्न भइसकेको छ।

आवश्यक प्राविधिक तथा प्रशासनिक तयारी पूरा भएपछि निकट भविष्यमा देशभरका प्रदेश अस्पतालबाट निजामती कर्मचारी अस्पतालले उपलब्ध गराउँदै आएको सहुलियतयुक्त स्वास्थ्य सेवा विस्तार गरिने मन्त्रालयले जनाएको छ।

सरकारको यो कदमले राजधानीबाहिर रहेका हजारौँ निजामती कर्मचारी तथा अवकाशप्राप्त कर्मचारीलाई स्वास्थ्य सेवामा सहज पहुँच दिलाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २४ जेष्ठ २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com