काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीचको सीमा विवाद कूटनीतिक संयन्त्रमार्फत समाधान गर्ने विषयमा छलफल भएको बताएका छन् ।
भारत भ्रमणबाट फर्किएका मन्त्री खनालले विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सीमा लगायतका द्विपक्षीय विषयमा भारत सरकारसँग छलफल गरेको जानकारी दिए ।
उनले भने, “सीमासँग सम्बन्धित विषयलाई कूटनीति र अहिले भइरहेका संयन्त्रमार्फत समाधान गर्ने भन्ने पहिलेदेखिकै अडान हो । अहिले त्यही ढंगबाट संयन्त्रले काम गरिरहेका छन् । अहिले कूटनीतिक ढंगबाट समाधान गर्ने भन्नेमा छलफल भएको छ ।”
लिपुलेक हुँदै कालापानी मानसरोवर यात्राको बाटो भारत र चीनले सहमतिसाथ खुलाएको भन्नेबारे यसअघि नै परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक नोट पठाइएको उनले स्मरण गरे ।
सीमाकै हकमा पनि पछिल्लो समय दुई पक्षीय संयन्त्रको फिल्ड सर्भे टोलीले काम गरिरहेको मन्त्री खनालले बताए ।
परराष्ट्रमन्त्री खनालले भारत भ्रमणका क्रममा द्विपक्षीय सम्बन्धका समग्र पक्षमा छलफल भएको र सीमा समस्या समाधानका लागि कूटनीतिक प्रयासलाई तीव्रता दिने सहमति भएको स्पष्ट पारे ।
प्रकाशित मिति: २४ जेष्ठ २०८३, आइतबार












प्रतिक्रिया