काठमाडौं । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल २० दिनको बिदापछि मंगलबारदेखि नियमित न्यायिक जिम्मेवारीमा फर्किएकी छन्।
गत जेठ ५ गते सर्वोच्च अदालतका प्रधानन्यायाधीशका रूपमा डा. मनोजकुमार शर्माले पदभार ग्रहण गर्नुअघि कामु प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेकी मल्लले आफ्नै बिदा स्वीकृत गरी अवकाशमा बसेकी थिइन्।
बिदा सकिएपछि अदालत फर्किएकी मल्लको एकल तथा संयुक्त इजलासमा विभिन्न प्रकृतिका मुद्दा सुनुवाइका लागि तोकिएका छन्। उनको एकल इजलासमा सात वटा मुद्दाको पेसी रहेको छ भने न्यायाधीश मेघराज पोखरेलसँगको संयुक्त इजलासमा १६६ वटा मुद्दा पेशीमा रहेका छन्।
सर्वोच्च अदालतको वरीयता क्रममा पहिलो स्थानमा रहेकी सपना प्रधान मल्ल प्रधानन्यायाधीश नियुक्ति प्रक्रियाप्रति असन्तुष्ट रहेको चर्चा यसअघि भएको थियो। संवैधानिक परिषद्ले वरीयतामा मल्ल, कुमार रेग्मी र हरिप्रसाद फुयालभन्दा पछाडि रहेका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेपछि उनले असन्तुष्टि जनाएकी थिइन्।
प्रधानन्यायाधीश नियुक्तिपछि बिदामा बसेकी मल्ल अब पुनः नियमित रूपमा सर्वोच्च अदालतको न्यायिक कार्यसम्पादनमा सक्रिय भएकी छन्।
प्रकाशित मिति: २५ जेष्ठ २०८३, सोमबार













प्रतिक्रिया