कोलकाता । पश्चिम बंगाल पुलिसको स्पेशल टास्क फोर्स (एसटीएफ) ले तृणमूल कांग्रेस (टीएमसी) का नेता जहांगीर खानलाई नेपाल सीमाक्षेत्रबाट पक्राउ गरेको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार उनी नेपालतर्फ भाग्ने तयारीमा रहेका बेला सोमबार नियन्त्रणमा लिइएका हुन्।

दक्षिण २४ परगना जिल्लाको फालता प्रहरी थानामा खानविरुद्ध सात वटा एफआईआर दर्ता छन्। चुनावी हिंसा तथा विभिन्न आपराधिक घटनासँग सम्बन्धित आरोपका आधारमा उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। केही सञ्चारमाध्यमले उनका समर्थकहरूले महिलामाथि सामूहिक बलात्कारको धम्की दिएको आरोप सार्वजनिक गरेका छन्, यद्यपि यसबारे पश्चिम बंगाल प्रहरीले आधिकारिक धारणा सार्वजनिक गरेको छैन।

advertisement

पक्राउपछि उनलाई कोलकाता ल्याउने प्रक्रिया सुरु गरिएको छ।

जहांगीर खानले सन् २०२६ को पश्चिम बंगाल विधानसभा निर्वाचनमा फालता निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका थिए। निर्वाचनका क्रममा अनियमितता र विवाद उत्पन्न भएपछि उक्त क्षेत्रमा मे २१ मा पुनः मतदान गराइएको थियो। पुनः मतदान हुनुभन्दा ४८ घण्टा अघि उनले चुनावी मैदान छाड्दै उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका थिए।

मे २४ मा सार्वजनिक भएको मतपरिणाममा खान पराजित भए। त्यसपछि उनी सार्वजनिक रूपमा देखिन छाडेका थिए। न उनी आफ्नै निवासमा भेटिएका थिए, न त पार्टी कार्यालयमा नै।

यसअघि मे महिनामै उनले कलकत्ता उच्च अदालतमा निवेदन दर्ता गर्दै आफूविरुद्ध दायर मुद्दाहरूको विवरण उपलब्ध गराउन तथा गिरफ्तारीबाट संरक्षण दिन माग गरेका थिए। राजनीतिक प्रतिशोधका कारण लगातार आपराधिक मुद्दा दर्ता गरिएको उनको दाबी थियो।

उच्च अदालतले सन् २०१९ मा दर्ता भएको एक मुद्दा तथा फालताको पुनः मतदानअघि उनलाई अस्थायी सुरक्षा प्रदान गरेको थियो। तर मे २६ मा अदालतले उनका सबै सुरक्षा सुविधा फिर्ता लिएको थियो।

चुनावी अभियानका क्रममा खानले आफूलाई चर्चित भारतीय फिल्म ‘पुष्पा’को पात्रसँग तुलना गर्दै प्रचार गरेका थिए। उनले विभिन्न सभामा फिल्मको चर्चित संवाद ‘पुष्पा झुकेगा नहीं साला’ दोहोर्‍याएर समर्थकहरूलाई आकर्षित गर्ने प्रयास गरेका थिए।

यसपटकको फालता निर्वाचनमा ऐतिहासिक मतान्तरसहित भाजपा उम्मेदवार देबांग्शू विजयी बने। उनले १ लाख ९ हजार २१ मतको फराकिलो अन्तरले जीत हात पारे। पुनः मतदानपछिको अन्तिम नतिजामा जहांगीर खान ७ हजार ७८३ मत प्राप्त गर्दै चौथो स्थानमा सीमित भए।

फालता क्षेत्र सन् २०११ यता लगातार तीन निर्वाचनसम्म टीएमसीको प्रभाव क्षेत्रमा रहँदै आएको थियो। तर यसपटकको नतिजाले त्यहाँको राजनीतिक समीकरणमा उल्लेखनीय परिवर्तन आएको संकेत गरेको छ।

प्रकाशित मिति: २५ जेष्ठ २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com