काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई वैदेशिक सम्बन्धका विषयमा थप संयमित र परिपक्व ढंगले प्रस्तुत हुन सुझाव दिएको छ।
रास्वपा सभापति रवि लामिछानेले सोमबार सिंहदरबारमा बोलाएको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले विदेश नीति र छिमेकी मुलुकसँगको सम्बन्धजस्ता संवेदनशील विषयमा जिम्मेवार अभिव्यक्ति आवश्यक रहेको बताए।
‘वैदेशिक सम्बन्धका सवालमा अपरिपक्व व्यवहार देखिनु हुँदैन। देश कुनै एक पक्षको मात्र होइन, सबै नेपालीको साझा सम्पत्ति हो। सरकारका गलत कदम वा अभिव्यक्तिको असर अन्ततः सम्पूर्ण राष्ट्रले व्यहोर्नुपर्ने हुन्छ,’ लिङ्देनले भने, ‘त्यसैले यस्ता विषयमा थप परिपक्वता र सावधानी अपनाउन आवश्यक छ।’
राप्रपाले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा नेपाल–भारत सीमा सम्बन्धमा व्यक्त गरेको धारणा तथा भारत भ्रमणका क्रममा रास्वपा सभापति रवि लामिछानेले ‘हामी विगतको भारी बोकेर हिँड्दैनौं’ भन्ने आशयको अभिव्यक्ति दिएको प्रसंगलाई पनि उल्लेख गरेको छ। ती अभिव्यक्तिहरूले विभिन्न अर्थ र सन्देश दिन सक्ने भएकाले वैदेशिक सम्बन्धका विषयमा विशेष संवेदनशीलता आवश्यक रहेको लिङ्देनको भनाइ थियो।
भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किएपछि सभापति लामिछानेले प्रमुख राजनीतिक दलहरूबीच छलफलका लागि सर्वदलीय बैठक आह्वान गरेका थिए। बैठकमा उनले भारत भ्रमणका क्रममा भएका भेटघाट, छलफल तथा त्यसबाट प्राप्त अनुभवबारे जानकारी गराउनुका साथै सरकारका लागि सुझाव संकलन गर्ने उद्देश्य रहेको बताएका थिए।
गत फागुन २१ गते सम्पन्न निर्वाचनपछि झन्डै दुईतिहाइ बहुमतसहित सरकार गठन गरेको रास्वपाले सर्वदलीय बैठक आयोजना गरेको यो पहिलो अवसर हो। बैठकमा विभिन्न दलका प्रतिनिधिहरूले समसामयिक राजनीतिक तथा कूटनीतिक विषयमा आफ्ना धारणा राखिरहेका छन्।
प्रकाशित मिति: २५ जेष्ठ २०८३, सोमबार












प्रतिक्रिया