काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका जिल्ला उपसभापति टाकाराज थापा (सुरेश) ले आफूलाई पदबाट हटाउने निर्णय राजनीतिक षड्यन्त्रको परिणाम भएको दाबी गरेका छन्।

पार्टीको जिल्ला उपसभापतिको जिम्मेवारीबाट हटाइएपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया सार्वजनिक गर्दै थापाले आफूविरुद्ध नियोजित रूपमा चरित्रहत्या गर्ने प्रयास भएको आरोप लगाएका हुन्।

थापाले केही स्वार्थप्रेरित व्यक्तिहरूले आफ्नो इमानदारितामाथि प्रश्न उठाउने, नैतिकता गिराउने र चरित्रमा दाग लगाउने उद्देश्यले षड्यन्त्र गरेको दाबी गरेका छन्। आफूले कुनै गलत काम नगरेको जिकिर गर्दै उनले आफूमाथि लगाइएका आरोपहरू अस्वीकार गरेका छन्।

सामाजिक सञ्जालमा उनले ‘नखाएको विष लाग्दैन’ भन्ने प्रसङ्ग उल्लेख गर्दै आफूलाई जबर्जस्ती दोषी देखाउने प्रयास भइरहेको बताएका छन्। महादेव (शिव) को भक्त रहेको उल्लेख गर्दै उनले आफूमाथि लगाइएको आरोप र अपमान सहन सक्ने तर आफ्नो इमानदारिता र नैतिकतामाथि लागेको दागको वास्तविकता एक दिन सार्वजनिक हुने आशय व्यक्त गरेका छन्।

‘मैले विष खाएको छैन । यो मेरो इमानदारिता गिराउने, नैतिकताको हत्या गर्ने र चरित्रमा दाग लगाउने केही व्यक्तिहरूको ठूलो राजनीतिक षड्यन्त्र मात्र हो,’ थापाले सामाजिक सञ्जालमा लेखेका छन्।

रास्वपा मकवानपुर जिल्ला समितिले कारबाहीका लागि सिफारिस गरेपछि बागमती प्रदेश समितिले थापालाई जिल्ला उपसभापतिको जिम्मेवारीबाट हटाउने निर्णय गरेको थियो।

गत जेठमा हेटौँडामा सम्पन्न रास्वपा मकवानपुरको पहिलो जिल्ला अधिवेशनबाट उपसभापतिमा निर्वाचित भएका थापा निर्वाचित भएको ६ महिना नपुग्दै जिम्मेवारीबाट हटाइएका हुन्।

प्रकाशित मिति: ११ मंसिर २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com
Skip This
Skip This