काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले करका दरसम्बन्धी सूचना चुहावट भएको आशंका व्यक्त गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिन गर्न माग गरेका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै शाहीले आर्थिक विधेयकमा भएका परिवर्तन र त्यससँग जोडिएका घटनाक्रमबारे गम्भीर प्रश्न उठाए। संसद्बाट पारित हुनुपर्ने आर्थिक विधेयकमा कसको स्वार्थअनुसार परिवर्तन गरिएको हो भन्ने विषय स्पष्ट हुनुपर्ने उनको भनाइ थियो।

advertisement

‘आर्थिक विधेयक संसद्को सम्पत्ति हो। त्यसमा गरिएको हेरफेर कसको स्वार्थमा भएको हो भन्ने विषयको निष्पक्ष छानबिन हुनुपर्छ,’ उनले भने।

शाहीले देशको वर्तमान अवस्थाका लागि सामान्य नागरिक वा किसान जिम्मेवार नभएको उल्लेख गर्दै राज्य सञ्चालनको जिम्मेवारीमा पुगेका राजनीतिक नेतृत्वकै कारण समस्या सिर्जना भएको आरोप लगाए।

उनले करका दर परिवर्तनसम्बन्धी गोप्य सूचना सीमित व्यक्तिलाई मात्र जानकारी हुने दाबी गर्दै बजेट सार्वजनिक हुनुअघि नै ठूलो संख्यामा विद्युतीय सवारीसाधन भन्सार प्रक्रिया पूरा गरेर नेपाल भित्रिएको घटनाप्रति प्रश्न उठाए।

‘करका दरबारे सचिवलाई समेत जानकारी नहुन सक्छ, तर अर्थमन्त्री र उहाँले तोकेका सीमित व्यक्तिहरूलाई मात्र जानकारी हुन्छ। यदि सूचना चुहिएर त्यसको फाइदा उठाइएको हो भने त्यसबारे गम्भीर अनुसन्धान हुनुपर्छ,’ उनले बताए।

शाहीले कोरला र रसुवागढी नाकाबाट भित्रिएका बीवाइडीका सयौं सवारीसाधनको प्रसंग उल्लेख गर्दै सरकारले आफैं गठन गरेको छानबिन समितिको निष्पक्षतामाथि पनि प्रश्न उठाए। घटनाको वास्तविकता पत्ता लगाउन सरकार होइन, संसद्को मातहतमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने उनको माग थियो।

उनले अनुसन्धानबाट अर्थमन्त्रीको संलग्नता पुष्टि भए कानुनअनुसार कडा कारबाही हुनुपर्ने धारणा समेत राखे।

प्रकाशित मिति: २५ जेष्ठ २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com