काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भिजिट भिसामा विदेश पठाउन ‘काउन्टर सेटिङ’ गरेको आरोपमा नेपाल प्रहरीको अनुसन्धान टोलीले नेपाल वायुसेवा निगमका दुई कर्मचारीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा निगमको ग्राउण्ड ह्याण्डलिङ सेवामा करारमा कार्यरत प्रबिन लामिछाने र सुमित्रा चन्द रहेका छन्। उनीहरूलाई आइतबार पक्राउ गरिएको हो।
अध्यागमन विभागले विमानस्थलमा कार्यरत केही कर्मचारीले यात्रुहरूलाई गैरकानुनी रूपमा विदेश पठाउन काउन्टर सेटिङ गर्ने गरेको सूचना पाएपछि अनुसन्धानका लागि प्रहरीलाई पत्राचार गरेको थियो। सोही आधारमा अध्यागमन विभाग र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको समन्वयमा अनुसन्धान अघि बढाइएको थियो।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काका अनुसार प्रारम्भिक अनुसन्धानपछि संलग्नता देखिएका दुई जनालाई नियन्त्रणमा लिइएको हो।
अनुसन्धानका क्रममा एक भारतीय नागरिकलाई सुरुमा भारत जाने बोर्डिङ पास उपलब्ध गराइएको, तर सुरक्षा जाँच प्रक्रिया पूरा गरेपछि उनलाई दुबई जाने अर्को बोर्डिङ पास दिइएको तथ्य खुलेको छ। अध्यागमन विभागको अभिलेखअनुसार उक्त भारतीय नागरिक जेठ ३ गते दुबई गएको देखिएको छ।
नेपालबाट तेस्रो मुलुकतर्फ यात्रा गर्ने भारतीय नागरिकले अनिवार्य रूपमा ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) पेश गर्नुपर्ने व्यवस्था छ। तर आवश्यक प्रक्रिया पूरा नगरेका यात्रुलाई उडान अनुमति दिन नमिल्ने अवस्थामा समेत वैकल्पिक व्यवस्था मिलाएर विदेश पठाउने प्रयास गरिएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।
अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार ती यात्रुलाई इन्डिगो एयरलाइन्समार्फत भारत जाने र फ्लाई दुबईमार्फत दुबई जाने गरी दुई फरक बोर्डिङ पास उपलब्ध गराइएको थियो। विमानस्थलको सिसिटिभी फुटेजमा सुरक्षा जाँचपछि सुमित्रा चन्दले यात्रुसँग रहेको इन्डिगो एयरलाइन्सको बोर्डिङ पास फिर्ता लिएको दृश्य समेत देखिएको बताइएको छ।
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी राखेको जनाएको छ।
प्रकाशित मिति: २५ जेष्ठ २०८३, सोमबार













प्रतिक्रिया