काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले प्रतिनिधिसभा निर्वाचनमा पार्टीविरुद्ध गतिविधि गरेको आरोपमा संखुवासभाका दुई नेतासँग स्पष्टीकरण माग गरेको छ।
समितिले कांग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य दीपक खड्का र संखुवासभा जिल्ला कार्यसमितिका सचिव कुमारबाबु अधिकारीलाई पाँच दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको हो।
अनुशासन समितिका सचिव दिनेश थापा मगरका अनुसार दुवै नेतामाथि पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध काम गरेको तथा निर्वाचनमा अन्तर्घात गरेको आरोप लागेको छ।
समितिले खड्कामाथि २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनका क्रममा पार्टीविरुद्ध सार्वजनिक अभिव्यक्ति दिएको आरोप लगाएको छ। मुडे बजार क्षेत्रमा आयोजित चुनावी कार्यक्रममा उनले पार्टी नेतृत्वप्रति असहमति जनाउँदै सार्वजनिक रूपमा टिप्पणी गरेको उजुरी समितिमा परेको उल्लेख गरिएको छ।
त्यस्तै, बाहिरबाट कांग्रेसका पक्षमा देखिए पनि भित्री रूपमा अन्य दलका उम्मेदवारलाई सहयोग गरेको, विभिन्न चुनाव चिह्नमा मतदान गर्न कार्यकर्तालाई प्रेरित गरेको तथा कांग्रेसको उम्मेदवार विजयी नहुने भन्दै चुनावी कार्यक्रममा सहभागी नहुन आग्रह गरेको आरोपसमेत उनीमाथि लगाइएको छ।
यता जिल्ला सचिव कुमारबाबु अधिकारीमाथि पनि पार्टीका आधिकारिक उम्मेदवारलाई पराजित गराउने उद्देश्यले गतिविधि गरेको आरोप छ। जिल्ला तहको जिम्मेवार पदमा रहँदा समेत उनले आफ्ना निकट व्यक्तिहरूलाई अन्य दलका उम्मेदवारको पक्षमा मतदान गर्न प्रेरित गरेको उजुरी समितिमा परेको जनाइएको छ।
अनुशासन समितिले दुवै नेतालाई नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३४ अनुसार अनुशासन उल्लंघनसम्बन्धी कसुरमा कारबाही किन नगर्ने भन्ने विषयमा स्पष्टीकरण दिन पत्राचार गरेको हो।
सचिव थापा मगरद्वारा हस्ताक्षरित पत्रमा पत्र प्राप्त भएको पाँच दिनभित्र लिखित जवाफ पेश गर्न भनिएको छ। समितिले दुवै नेतालाई जेठ २० गते स्पष्टीकरण सोधेको जनाएको छ।
प्रकाशित मिति: २५ जेष्ठ २०८३, सोमबार













प्रतिक्रिया