काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले देशका विभिन्न ग्रामीण क्षेत्रमा बाँदरको बढ्दो उपद्रवका कारण किसानहरू गम्भीर समस्यामा परेको बताएका छन्। उनले खेतीपाती जोगाउन प्रभावकारी र व्यावहारिक समाधान खोज्न सरकारलाई आग्रह गरेका छन्।
संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद राईले बाँदरले मकै, अलैँचीलगायतका कृषि बालीमा ठूलो क्षति पुर्याइरहेको दाबी गरे। किसानको जीविकोपार्जन नै संकटमा परेको भन्दै उनले समस्या समाधानका लागि सरकारले विशेष नीति अवलम्बन गर्नुपर्ने बताए।
सञ्चारकर्मीहरूसँग बोल्दै सांसद राईले भने, ‘मैले हत्या गरेको होइन, जनताले मारेका हुन् र मैले त्यसमा सहयोग गरेको हुँ। ६०० होइन, अब ६ लाख बाँदर मार्नुपर्छ, तब मात्र शान्ति हुन्छ। लाखौँ मूल्य पर्ने अलैँचीका टुसा बाँदरले एकैछिनमा नष्ट गरिदिन्छ। किसानहरू धुरुधुरु रोइरहेका छन्। यस्तो अवस्थामा विदेशीले बनाइदिएको कानून र एनजीओ/आईएनजीओको कुरा सुनेर जनतालाई पीडा दिनु हुँदैन।’
‘किसानको खेतबारीमा पुगेर वास्तविक अवस्था हेर्नुपर्छ। लाखौँ रुपैयाँ बराबरको अलैँची र अन्य बाली केही क्षणमै नष्ट हुने अवस्था छ। किसानहरू निराश र पीडित छन्,’ उनले भने।
पशु अधिकारका पक्षमा आवाज उठाइरहेका समूहहरूप्रति संकेत गर्दै राईले ग्रामीण भेगमा किसानले भोगिरहेको समस्यालाई पनि समान रूपमा ध्यान दिनुपर्ने बताए। बाँदर संरक्षणको बहससँगै कृषि उत्पादन र किसानको जीविकालाई असर गर्ने पक्षबारे पनि गम्भीर छलफल हुनुपर्ने उनको भनाइ थियो।
सांसद राईले बाँदर नियन्त्रणका विषयमा दिएको अभिव्यक्तिका कारण कानुनी प्रश्न उठे पनि आफू आफ्नो धारणा राख्न पछि नहट्ने बताए। किसानको हितका लागि उठाइएका विषयमा आफू जिम्मेवार ढंगले उभिने उनको भनाइ थियो।
उनले सरकारलाई बाँदर व्यवस्थापन, वन्यजन्तु नियन्त्रण तथा किसानको बाली संरक्षणका लागि दीर्घकालीन र वैज्ञानिक समाधान खोज्न आग्रह गरेका छन्।
प्रकाशित मिति: २५ जेष्ठ २०८३, सोमबार













प्रतिक्रिया