काठमाडौं । नेपाल–चीन व्यापारको प्रमुख प्रवेशद्वारका रूपमा रहेको रसुवागढी नाका बाट चालु आर्थिक वर्षमा ४० अर्ब रुपैयाँभन्दा बढी मूल्यका वस्तु आयात भएका छन्। यस अवधिमा नाकाबाट भएको व्यापारिक कारोबारले राज्यको राजस्व सङ्कलनमा समेत उल्लेखनीय योगदान पुर्याएको छ।
रसुवा भन्सार कार्यालयका निमित्त प्रमुख भरतसिंह विकका अनुसार चालु आर्थिक वर्षको साउनदेखि हालसम्म रसुवागढी नाकाबाट ४० अर्ब १० करोड रुपैयाँ बराबरका चिनियाँ वस्तु नेपाल भित्रिएका छन्। नेपाल–चीनबीचको व्यापारिक गतिविधि विस्तारसँगै यो नाका आयातका हिसाबले मुलुककै महत्वपूर्ण व्यापारिक केन्द्रका रूपमा स्थापित हुँदै गएको छ।
उनका अनुसार यस नाकाबाट मुख्य रूपमा तयारी पोसाक, जुत्ता–चप्पल, रोलकपडा, विद्युतीय सामग्री, ओखर, स्याउ, लसुन, अदुवा, थर्मस, जलविद्युत् आयोजनाका उपकरण तथा विद्युतीय सवारीसाधनलगायतका सामग्री आयात हुँदै आएका छन्। पछिल्ला वर्षहरूमा विद्युतीय सवारीसाधन तथा ऊर्जा क्षेत्रसँग सम्बन्धित उपकरणको आयातमा उल्लेख्य वृद्धि भएको देखिएको छ।
ऐतिहासिक रूपमा समेत महत्वपूर्ण मानिने रसुवागढी नाका प्राचीनकालदेखि नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतबीचको प्रमुख व्यापारिक मार्ग रहँदै आएको छ। लिच्छवी तथा मल्लकालमा व्यापारीहरूले यही मार्ग प्रयोग गरी नुन, ऊन, जडीबुटी तथा अन्य वस्तुको कारोबार गर्ने गरेका थिए। आधुनिक सडक पूर्वाधार र यातायात सञ्जालको विस्तारसँगै यो नाका अन्तर्राष्ट्रिय व्यापारको महत्वपूर्ण केन्द्रका रूपमा विकसित भएको हो।
भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षमा नेपालबाट भने करिब ९० करोड रुपैयाँ बराबरका वस्तु निर्यात भएका छन्। आयातको तुलनामा निर्यातको मात्रा निकै कम रहे पनि सीमापार व्यापारलाई सन्तुलित बनाउने प्रयास जारी रहेको जनाइएको छ।
यस अवधिमा रसुवागढी नाकाबाट हुने आयात–निर्यात कारोबारबाट कुल १० अर्ब ८० करोड रुपैयाँ राजस्व सङ्कलन भएको निमित्त प्रमुख विकले जानकारी दिए। उनका अनुसार नाकाले मुलुकको राजस्व वृद्धि, व्यापार विस्तार तथा आर्थिक गतिविधि प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ।
यसैबीच पछिल्लो समय विद्युतीय सवारीसाधनको जाँचपास प्रक्रियाबारे उठेका विभिन्न प्रश्नहरूको जवाफ दिँदै विकले प्रचलित भन्सार ऐन तथा नियमावलीअनुसार पैठारीकर्तालाई अग्रिम रूपमा राजस्व बुझाउने व्यवस्था रहेको स्पष्ट पारे। तोकिएको कानुनी प्रक्रिया अनुसार नै राजस्व सङ्कलन हुने भएकाले राज्यलाई कुनै आर्थिक हानि–नोक्सानी नपुगेको उनको भनाइ छ।
उनले रसुवागढी नाका नेपाल–चीन व्यापार सम्बन्धको प्रमुख आधारस्तम्भका रूपमा रहेको उल्लेख गर्दै आगामी दिनमा व्यापारिक गतिविधि थप विस्तार हुने अपेक्षा व्यक्त गरे।
प्रकाशित मिति: २५ जेष्ठ २०८३, सोमबार













प्रतिक्रिया