काठमाडौं । मन्त्री छनोट प्रक्रियालाई लिएर विवाद चर्किएपछि नेकपा एमाले सुदूरपश्चिम प्रदेश कार्यालयमा तालाबन्दी गरिएको छ।
संसदीय दलका नेता राजेन्द्र सिंह रावलले मन्त्री चयनमा एकलौटी निर्णय गरेको आरोप लगाउँदै असन्तुष्ट पक्षले सोमबार पार्टी कार्यालयमा तालाबन्दी गरेको हो।
मन्त्री नियुक्तिसम्बन्धी निर्णयलाई लिएर एमाले सुदूरपश्चिमभित्र आन्तरिक असन्तोष बढ्दै गएको छ। आइतबार बसेको एमाले संसदीय दलको बैठकले कमल शाह नेतृत्वको प्रदेश सरकारमा सहभागी आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने र नयाँ नाम सिफारिस गर्ने निर्णय गरेको थियो।
तर बैठकको निर्णयअनुसार सहमति नखोजी संसदीय दलका नेता रावलले एकलौटी रूपमा नयाँ मन्त्रीहरूको नाम मुख्यमन्त्री कार्यालयमा पठाएको आरोप असन्तुष्ट पक्षको छ। यही विषयलाई लिएर पार्टीभित्र विवाद उत्पन्न भएको बताइएको छ।
सुदूरपश्चिम प्रदेशमा सोमबार मन्त्रिपरिषद् पुनर्गठनको तयारी भइरहेको छ। सोही क्रममा सरकारमा सहभागी कांग्रेस कोटाका मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ अनुहारलाई जिम्मेवारी दिने प्रक्रिया अघि बढाइएको छ।
मन्त्री चयनको विषयमा देखिएको विवादले एमाले सुदूरपश्चिमको आन्तरिक राजनीति थप तरंगित बनेको छ।
प्रकाशित मिति: २५ जेष्ठ २०८३, सोमबार













प्रतिक्रिया