काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीद्वय सुधन गुरुङ र महावीर पुनलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।

राष्ट्रपति भवन शीतल निवासमा मंगलबार आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले गुरुङलाई गृहमन्त्री तथा पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्रीको शपथ गराएका हुन्।

advertisement

प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा मंगलबार नै दुवै जनालाई मन्त्री नियुक्त गरिएको थियो। मन्त्रिपरिषद् पुनर्गठनअन्तर्गत गुरुङलाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ भने नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नेतृत्व महावीर पुनलाई सुम्पिएको छ।

गुरुङ यसअघि पनि गृहमन्त्रीको जिम्मेवारीमा रहेका थिए। उनले पदबाट राजीनामा दिएपछि गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहले आफैं सम्हाल्दै आएका थिए।

यता विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय हालै स्थापना गरिएको नयाँ मन्त्रालय हो। विज्ञान, अनुसन्धान, प्रविधि विकास तथा नवप्रवर्तनलाई संस्थागत रूपमा अघि बढाउने उद्देश्यले मन्त्रालय गठन गरिएको जनाइएको छ।

गोरखाबाट निर्वाचित सांसद गुरुङको पुनरागमनसँगै गृह प्रशासनले नयाँ गति लिने अपेक्षा गरिएको छ भने म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद पुनको नियुक्तिलाई विज्ञान तथा नवप्रवर्तन क्षेत्रका लागि महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।

प्रकाशित मिति: २६ जेष्ठ २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com