काठमाडौं । नेपाली हस्तकला, महिला उद्यमशीलता र स्थानीय उत्पादनलाई विश्वव्यापी आतिथ्य उद्योगसँग जोड्ने उद्देश्यले उन्नति र मेरियट बिजनेस काउन्सिल, दक्षिण एसियाबीच रणनीतिक साझेदारी सम्झौता भएको छ।

सम्झौतामा चौधरी फाउन्डेसनका अध्यक्ष निर्वाण चौधरी र मेरियट बिजनेस काउन्सिल, दक्षिण एसियाका प्रतिनिधि किरण एन्डीकोटले हस्ताक्षर गरेका हुन्। कार्यक्रममा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी, मेरियट इन्टरनेशनलका अध्यक्ष डेभिड मेरियटलगायत दुवै संस्थाका वरिष्ठ पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

advertisement

चौधरी फाउन्डेसनअन्तर्गत सञ्चालित ‘उन्नति’ कार्यक्रमले नेपाली परम्परागत सीप, महिला उद्यमशीलता र स्थानीय हस्तनिर्मित उत्पादनलाई बजारसँग जोड्ने काम गर्दै आएको छ। नयाँ साझेदारीमार्फत नेपाली हस्तकला तथा समुदायमा आधारित उत्पादक समूहहरूले उत्पादन गरेका सामग्रीलाई अन्तर्राष्ट्रिय आतिथ्य क्षेत्रसम्म पुर्‍याउने प्रयास गरिनेछ।

सम्झौताअनुसार मेरियट र यसअन्तर्गत सञ्चालित होटलहरूमा नेपाली उत्पादनको प्रदर्शन, प्रवर्द्धन तथा प्रयोगको सम्भावना खोजिनेछ। यसले स्थानीय हस्तकला र मौलिक उत्पादनलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउनुका साथै महिला उद्यमी र समुदायस्तरका उत्पादकका लागि नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।

सहकार्यअन्तर्गत उन्नतिले आफ्नो प्रिमियम ब्रान्ड ‘सिया’मार्फत होटल सञ्चालन तथा कर्पोरेट उपहारका लागि उपयुक्त उत्पादनहरूको विकास र छनोट गर्नेछ। साथै महिला नेतृत्वमा सञ्चालित उद्यम तथा हस्तकला उत्पादकहरूको पहिचान, उत्पादनको गुणस्तर सुनिश्चितता, ब्रान्डिङ, कथा प्रस्तुतीकरण (स्टोरीटेलिङ) र प्रभाव मूल्याङ्कनका कार्यसमेत उन्नतिले अघि बढाउनेछ।

यता मेरियटले होटल उद्योगलाई आवश्यक पर्ने उत्पादनसम्बन्धी मापदण्ड र मार्गदर्शन उपलब्ध गराउने, छनोट भएका नेपाली उत्पादनहरूको प्रवर्द्धन गर्ने तथा ती सामग्रीलाई होटल सञ्चालनका लागि आवश्यक सामग्री र उपकरणमा समावेश गर्ने सम्भावनाबारे छलफल सहजीकरण गर्ने जनाएको छ।

सम्झौतापछि बोल्दै चौधरी फाउन्डेसनका अध्यक्ष निर्वाण चौधरीले नेपालको समृद्ध हस्तकला र उद्यमशील परम्पराले अन्तर्राष्ट्रिय स्तरमा अझ व्यापक पहिचान पाउनुपर्ने बताए। उनले यो सहकार्यले विशेषगरी महिला उद्यमी र स्थानीय उत्पादकलाई विश्व बजारसँग जोड्दै आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

दुवै संस्थाले यस साझेदारीमार्फत नेपालको सांस्कृतिक सम्पदाको संरक्षण, स्थानीय उत्पादनको प्रवर्द्धन र समावेशी आर्थिक विकासलाई गति दिने लक्ष्य लिएको बताएका छन्। साथै सामाजिक उत्तरदायित्वमा आधारित व्यवसायिक अभ्यासलाई प्रोत्साहन गर्दै नेपालको विशिष्ट सांस्कृतिक पहिचानलाई विश्वमञ्चमा स्थापित गर्ने प्रतिबद्धता पनि दोहोर्‍याएका छन्।

प्रकाशित मिति: २६ जेष्ठ २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com