काठमाडौँ । भक्तपुर नगरपालिका ले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको सिद्धपोखरी (तःपुखु) को मर्मत कार्यलाई तीव्रता दिएको छ। नगरपालिकाले ठेक्का प्रणालीलाई निरुत्साहित गर्दै उपभोक्ता समितिमार्फत स्थानीयको प्रत्यक्ष सहभागितामा मर्मत कार्य सञ्चालन गरिरहेको जनाएको छ।

भक्तपुर नगरपालिकाका अनुसार सिद्धपोखरीको संरक्षण तथा पुनःनिर्माणका लागि कृष्णबहादुर दुगुजुको अध्यक्षतामा ‘सिद्धपोखरी पेटी पुनः निर्माण उपभोक्ता समिति’ गठन गरिएको छ। समितिले पोखरीको पानी नजिकै रहेका भाजु पुखु र नःपुखुमा पाइपमार्फत स्थानान्तरण गरी २०८२ चैत २० गतेदेखि मर्मत कार्य सुरु गरेको हो। आगामी भदौको दोस्रो सातासम्ममा मर्मत कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

advertisement

नगरपालिकाले मर्मतका लागि ८५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। हाल दैनिक ३० देखि ३२ जना जनशक्ति परिचालन गरी पोखरीको पेटी तथा अन्य संरचनाको मर्मत भइरहेको छ। नगरपालिकाले स्थानीय बासिन्दा, क्लब, दाफाभजन समूह, गुठी तथा विभिन्न सङ्घसंस्थालाई श्रमदानमार्फत सम्पदा संरक्षण अभियानमा सहभागी हुन आह्वान गर्दै आएको छ। सार्वजनिक बिदाका दिन स्थानीयको उल्लेख्य सहभागिता हुने गरेको बताइएको छ।

भक्तपुर नगरपालिकाका अनुसार सिद्धपोखरी ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण सम्पदा हो। भक्तपुर दरबार क्षेत्र तथा अन्य ऐतिहासिक सम्पदा अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि यो प्रमुख आकर्षणको केन्द्र बनेको छ। चारैतिर बलियो पर्खालले घेरिएको तथा कलात्मक प्रवेशद्वारहरू रहेको यस आयताकार पोखरीको पूर्व–पश्चिम लम्बाइ करिब ५७४ फिट, उत्तर–दक्षिण चौडाइ २४९ फिट र गहिराइ करिब १० फिट रहेको छ।

नेपाल संवत् २३९ अर्थात् १३औँ शताब्दीको प्रारम्भतिर राजा इन्द्रदेवले निर्माण गराएको सिद्धपोखरी नेपालकै सबैभन्दा पुराना तथा ठूला मानव निर्मित पोखरीहरूमध्ये एक मानिन्छ। प्रारम्भमा ‘इन्द्र दह’ नामले परिचित यस पोखरीलाई १५औँ शताब्दीमा राजा यक्ष मल्लले जीर्णोद्धार गराएका थिए। नेपाल एकीकरणपछिको समयमा भीमसेन थापाको कार्यकालमा पुनः निर्माण गरी यसलाई ‘सिद्धपोखरी’ नामकरण गरिएको इतिहास रहेको छ।

नगरपालिकाले पुर्खाको गौरवशाली इतिहास तथा सांस्कृतिक सम्पदाको संरक्षणका लागि पोखरी तथा अन्य सम्पदाहरूको नियमित सरसफाइ, मर्मत तथा पुनः निर्माण कार्यलाई निरन्तरता दिँदै आएको जनाएको छ।

प्रकाशित मिति: २७ जेष्ठ २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com