काठमाडौ । दाङको लमही नगरपालिका–९ स्थित च्याउखोला नजिक पूर्व–पश्चिम महेन्द्र राजमार्गमा दूध बोकेको ट्याङ्कर र कार एकआपसमा ठोक्किँदा पाँच जना घाइते भएका छन्।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ क ५४९८ नम्बरको दूध ट्याङ्कर र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ९ च ४७९४ नम्बरको कार आज बिहान ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा कार चालक दाङ शान्तिनगर गाउँपालिका–६ निवासी २५ वर्षीय दिपेश भण्डारीसहित कारमा सवार सुर्खेत गुर्भाकोट नगरपालिका–४ की २७ वर्षीया गीता विक, सुर्खेत गुर्भाकोट नगरपालिका–१ निवासी ६१ वर्षीय मादले विक, दाङ तुलसीपुर उपमहानगरपालिका–९ निवासी २५ वर्षीय कपिल केसी र बाँकेको कोहलपुर नगरपालिका–१० की ३२ वर्षीया कौसिला विक घाइते भएका छन्।
घाइते पाँचै जनालाई उपचारका लागि बाँके पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि ट्याङ्कर चालक कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ निवासी ३४ वर्षीय शिवनारायण थारुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २७ जेष्ठ २०८३, बुधबार













प्रतिक्रिया