काठमाडौं । म्याग्दी जिल्लाबाट स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचन जितेका महावीर पुन दोस्रोपटक मन्त्री बनेका छन्। नवगठित सरकारमा उनले विज्ञान तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी पाएका हुन्।
यसअघि जेन–जी आन्दोलनपछि गठन भएको सुशीला कार्की नेतृत्वको सरकारमा पुनले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। तर, निर्वाचनमा उम्मेदवार बन्न उनले मन्त्री पदबाट राजीनामा दिएका थिए।
विज्ञान, अनुसन्धान र नवप्रवर्तनका क्षेत्रमा लामो समयदेखि सक्रिय पुनले विगतदेखि नै विज्ञान तथा प्रविधिसम्बन्धी कामलाई थप प्रभावकारी बनाउन छुट्टै मन्त्रालय स्थापना गर्नुपर्ने धारणा राख्दै आएका थिए। सरकारद्वारा मन्त्रालयहरूको कार्यविभाजन पुनर्संरचना गरी १८ वटा मन्त्रालय कायम गर्ने निर्णयसँगै विज्ञान तथा नवप्रवर्तन मन्त्रालय स्थापना गरिएको हो। पुनलाई सोही मन्त्रालयको नेतृत्व सुम्पिएको छ।
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापकसमेत रहेका पुन विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा योगदानका कारण परिचित छन्। पछिल्लो समय उनी आफ्नो आत्मकथा बिक्री अभियानमार्फत देशका विभिन्न जिल्लाको भ्रमणमा निस्किएका थिए। आत्मकथा बिक्रीबाट संकलित रकम आविष्कार केन्द्रको गतिविधिमा सहयोग पुर्याउने उद्देश्य रहेको बताउदै आएका छन्।
मन्त्री पदको जिम्मेवारी सम्हाल्दै पुनले आफू लामो समयसम्म पदमा बस्ने सोचमा नरहेको बताएका छन्। पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले मन्त्रालयलाई संस्थागत रूपमा बलियो बनाएर नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने लक्ष्य रहेको उल्लेख गरे।
उनले द्रुत गतिमा काम गर्दै छोटो अवधिमै देखिने परिणाम दिन चाहेको बताए। “रातदिन मेहनत गरेर काम गर्ने हो। बढीमा तीन वर्षभित्र मन्त्रालयलाई मजबुत आधारमा उभ्याएर नयाँ युवा पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्ने मेरो सोच छ,” उनले भने।
सरकारको कार्यकाल पाँच वर्षको भए पनि आफू पदमा टिकिरहनुभन्दा परिणाममुखी कामलाई प्राथमिकता दिने पक्षमा रहेको पुनको भनाइ छ। उनले विज्ञान, अनुसन्धान, नवप्रवर्तन तथा प्रविधिमैत्री नीतिहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै मुलुकको विकासमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
नवगठित विज्ञान तथा नवप्रवर्तन मन्त्रालयले अनुसन्धान, आविष्कार, उद्यमशीलता तथा प्रविधि विकासका कार्यक्रमलाई एकीकृत रूपमा अघि बढाउने अपेक्षा गरिएको छ। यस मन्त्रालयको नेतृत्वमा महावीर पुनको नियुक्तिलाई विज्ञान तथा प्रविधि क्षेत्रका सरोकारवालाले चासोका साथ हेरिरहेका छन्।
विशेषगरी अनुसन्धानमा लगानी वृद्धि, नवप्रवर्तनलाई प्रोत्साहन, युवालाई वैज्ञानिक अनुसन्धानतर्फ आकर्षित गर्ने वातावरण निर्माण तथा देशभित्रै प्रविधिमूलक समाधान विकास गर्ने विषयमा पुनबाट ठोस पहल हुने अपेक्षा गरिएको छ। मन्त्रीका रूपमा उनको दोस्रो कार्यकालले विज्ञान तथा नवप्रवर्तन क्षेत्रलाई कति प्रभावकारी रूपमा अगाडि बढाउँछ भन्ने विषय आगामी दिनमा थप स्पष्ट हुने देखिएको छ।
मन्त्री पुनले जेष्ठ २६ गते राष्ट्रपति रामचन्द्र पौडेलद्वारा राष्ट्रपति कार्यालय शितल निवासमा मन्त्री पदको शपथ लिएका हुन् ।
प्रकाशित मिति: २७ जेष्ठ २०८३, बुधबार













प्रतिक्रिया