काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतीय इतिहासमा सबैभन्दा लामो समयसम्म लगातार निर्वाचित प्रधानमन्त्रीका रूपमा सेवा गरेको कीर्तिमान कायम गरेको अवसरमा बधाई दिएका छन्।
सामाजिक सञ्जाल एक्समार्फत शुभकामना व्यक्त गर्दै लामिछानेले प्रधानमन्त्री मोदीको यो उपलब्धिलाई भारतीय लोकतान्त्रिक इतिहासको महत्त्वपूर्ण अध्यायका रूपमा उल्लेख गरेका छन्।
सन् २०१४ मे २६ मा पहिलोपटक प्रधानमन्त्री पदको शपथ लिएका मोदीले बुधबार आफ्नो कार्यकालको ४ हजार ३ सय ९९ दिन पूरा गर्दै नयाँ कीर्तिमान कायम गरेका हुन्। यससँगै उनले भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूको ४ हजार ३ सय ९८ दिनको लगातार निर्वाचित प्रधानमन्त्रीको रेकर्डलाई उछिनेका छन्।
लामिछानेले केही समयअघि नयाँ दिल्लीमा प्रधानमन्त्री मोदीसँग भएको भेटवार्तालाई स्मरण गर्दै त्यस अवसरमा नेपाल–भारत सम्बन्ध, आर्थिक सहकार्य र आपसी हितका विविध विषयमा सकारात्मक छलफल भएको उल्लेख गरेका छन्।
उनले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै विकास, समृद्धि र साझेदारीका साझा एजेन्डामा सहकार्य विस्तार गर्न आफूहरू प्रतिबद्ध रहेको बताएका छन्।
शुभकामना सन्देशमा लामिछानेले रास्वपाले अघि सारेको ‘समृद्ध नेपाल’ को दृष्टिकोणलाई केन्द्रमा राखेर नेपाल–भारत सम्बन्धलाई थप उचाइमा पुर्याउने लक्ष्यसहित काम गरिरहेको उल्लेख गरेका छन्। साथै, आर्थिक साझेदारी, व्यापारिक सहकार्य र दुवै देशका नागरिकको हितसँग जोडिएका विषयलाई प्राथमिकताका साथ अगाडि बढाउन इच्छुक रहेको पनि उनले बताएका छन्।
लामिछानेको सन्देशलाई नेपाल–भारत सम्बन्धलाई सकारात्मक र व्यावहारिक ढंगले अघि बढाउने राजनीतिक प्रतिबद्धताको रूपमा समेत हेरिएको छ।
प्रकाशित मिति: २७ जेष्ठ २०८३, बुधबार













प्रतिक्रिया