काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रतिनिधिसभामा प्रयोग गरेका केही शब्दप्रति आपत्ति जनाउँदै ती अभिव्यक्तिहरू संसद्को अभिलेखबाट हटाउन माग गरेको छ।

बुधबार प्रतिनिधिसभा बैठकमा नियमापत्ति उठाउँदै रास्वपा सांसद समीक्षा बास्कोटाले संसद्को मर्यादा र गरिमाविपरीत हुने गरी अशिष्ट, अपमानजनक तथा असंसदीय शब्द प्रयोग गरिएको भन्दै सभामुखको ध्यानाकर्षण गराइन्।

advertisement

प्रतिनिधिसभा नियमावलीको नियम २१ (घ) को उल्लेख गर्दै उनले संसद्मा अशिष्ट, अश्लील वा अपमानजनक अभिव्यक्ति प्रयोग गर्न नपाइने व्यवस्था रहेको स्मरण गराइन्। सोही आधारमा ‘सदनको चीरहरण’, ‘मुर्दा लास’ र ‘मुर्दा शान्ति’ जस्ता शब्दहरू संसदीय मर्यादाविपरीत रहेको दाबी गर्दै ती शब्दहरू संसद्को रेकर्डबाट हटाउन माग गरिन्।

सांसद बास्कोटाले सत्तापक्षका सांसदहरूलाई लक्षित गरेर प्रयोग गरिएका शब्दहरूले समग्र संसद्कै गरिमामा आँच पुर्‍याएको टिप्पणी गरिन्।

‘हामी यहाँ मुर्दा लास बन्न आएका होइनौँ, न त मुर्दा शान्ति रोज्न आएका हौँ। कुन विषयमा बोल्ने र कुन विषयमा नबोल्ने भन्नेमा हामी जिम्मेवार र सचेत छौँ,’ उनले भनिन्।

उनले संसद् कुनै एक पक्षको मात्र नभई सम्पूर्ण नागरिकको आवाज अभिव्यक्त गर्ने साझा मञ्च भएकाले त्यहाँ प्रयोग हुने भाषा मर्यादित र जिम्मेवार हुनुपर्ने धारणा राखिन्।

बास्कोटाले आफूहरू संसद्को चीरहरण हेर्न नभई लामो समयदेखि बेथितिको मारमा परेका नागरिकको पीडा अन्त्य गर्न राजनीतिमा आएको बताउँदै संसद्लाई अपमानित गर्ने अभिव्यक्तिबाट सबै सांसद सचेत रहनुपर्ने बताइन्।

सत्तापक्षका १८२ जना सांसदलाई लक्षित गरी प्रयोग गरिएका शब्दहरू असंसदीय र अपमानजनक रहेको दाबी गर्दै उनले ती अभिव्यक्तिहरू तत्काल संसद्को अभिलेखबाट हटाउन सभामुखसँग औपचारिक माग गरिन्।

प्रकाशित मिति: २७ जेष्ठ २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com