काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दिपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय टी–२० क्रिकेटको अलराउन्डर वरियतामा चौथो स्थानमा उक्लिएका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको पछिल्लो वरियताअनुसार दिपेन्द्रले एक स्थान सुधार गर्दै विश्वका उत्कृष्ट अलराउन्डरहरूको सूचीमा चौथो स्थान हासिल गरेका हुन्।
उनी यसअघि दोस्रो स्थानसम्म पुगिसकेका खेलाडी हुन्।
अलराउन्डरतर्फको वरियतामा जिम्बाबेका सिकन्दर राजा शीर्ष स्थानमा कायम छन् भने भारतका हार्दिक पाण्ड्या दोस्रो र पाकिस्तानका सैम अयुब तेस्रो स्थानमा रहेका छन्। अफगानिस्तानका अजमतुल्लाह ओमरजाई पाँचौं स्थानमा छन्।
नेपाली टोलीका ओपनर कुशल भुर्तेलले पनि उल्लेखनीय सुधार गरेका छन्। उनले चार स्थान फड्को मार्दै अलराउन्डरतर्फ २७औँ स्थान प्राप्त गरेका छन्।
एकदिवसीय टोलीका कप्तान रोहित पौडेल भने छ स्थान तल झर्दै ५२औँ स्थानमा पुगेका छन्। गुल्सन झाले छ स्थान सुधार गर्दै ८१औँ स्थान हासिल गरेका छन्।
यसैगरी, राष्ट्रिय टोलीमा पुनरागमन गरेका कुशल मल्लले नौ स्थान सुधार गर्दै ९३औँ स्थानमा आफूलाई स्थापित गरेका छन्। अघिल्लो वरियतामा शीर्ष १०० भित्र नपरेका उनी पुनः वरियतामा फर्किन सफल भएका हुन्।
बलिङतर्फ नेपालका प्रमुख स्पिनर सन्दीप लामिछानेले नौ स्थान सुधार गर्दै ४९औँ स्थानमा उक्लिएका छन्। दिपेन्द्रसिंह ऐरीले पनि बलिङ वरियतामा उल्लेखनीय प्रगति गर्दै १५ स्थान माथि चढेर ६२औँ स्थान हासिल गरेका छन्।
ब्याटिङतर्फ कुशल भुर्तेलले छ स्थान सुधार गर्दै ६०औँ स्थानमा स्थान बनाएका छन्। यद्यपि दिपेन्द्रसिंह ऐरी, रोहित पौडेल र आसिफ शेखको ब्याटिङ वरियता भने केही खस्किएको छ।
प्रकाशित मिति: २७ जेष्ठ २०८३, बुधबार













प्रतिक्रिया