काठमाडौं। नेकपा (एमाले) का वरिष्ठ नेता तथा संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा दिएको अभिव्यक्तिले राष्ट्रिय राजनीतिमा गम्भीर प्रश्न खडा गरेको बताएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको अभिव्यक्तिबाट उत्पन्न विवादले राष्ट्रिय स्वाभिमान र सार्वभौमिकतासँग सम्बन्धित बहस जन्माएको उल्लेख गरे।
प्रधानमन्त्रीले नेपालले छिमेकी मुलुकको भूमि अतिक्रमण गरेको आशय व्यक्त गरेको भन्दै त्यसको राजनीतिक सन्देशबारे स्पष्टता आवश्यक रहेको उनको भनाइ थियो।
“यो अभिव्यक्तिको अर्थ राष्ट्रिय आत्मसमर्पण हो वा राष्ट्रिय स्वाभिमानको पक्षमा हो ?” भन्दै उनले संसद्मा प्रश्न उठाए।
सांसद थापाले संसद्मा देखिएको गतिरोध अन्त्य गर्ने जिम्मेवारी प्रधानमन्त्रीकै काँधमा रहेको बताए।
प्रधानमन्त्रीले आफ्नो भनाइ सच्याउनुपर्ने, सभामुखले आवश्यक निर्णय लिनुपर्ने र सम्बन्धित राजनीतिक दलहरूले पनि यस विषयमा स्पष्ट धारणा राख्नुपर्ने उनको माग थियो।
उनले विवादित अभिव्यक्तिलाई संसद्को अभिलेखबाट हटाउनुपर्ने अडान दोहोर्याउँदै त्यसो नभएसम्म संसदीय अवरोध जारी रहने संकेत गरे।
“प्रधानमन्त्रीको राष्ट्रहितविपरीत रहेको भनिएको अभिव्यक्ति अभिलेखबाट नहटाएसम्म संसद्को कामकारबाही सहज रूपमा अघि बढ्न सक्दैन,” उनले भने।
देशको स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय स्वाभिमानसँग जोडिएका विषयमा कुनै पनि प्रकारको सम्झौता स्वीकार्य नहुने उल्लेख गर्दै उनले यस विषयलाई गम्भीरतापूर्वक सम्बोधन गर्न सरकारलाई आग्रह गरे।
प्रकाशित मिति: २७ जेष्ठ २०८३, बुधबार













प्रतिक्रिया