काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पछिल्ला दिनमा करका दर हेरफेर तथा सूचना चुहावट सम्बन्धी विवादलाई लिएर पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेको छविमाथि नियोजित रूपमा प्रहार गर्ने प्रयास भइरहेको बताएका छन्।
प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद सुनारले दुईवटा ‘ब्रान्ड’ माथि आक्रमण भइरहेको चर्चा सुनिएको उल्लेख गरे। उनले भने, ‘अहिले दुईवटा ब्रान्डमाथि आक्रमण भएको सुनिरहेका छौं। एउटा ‘बिवाडी ब्रान्ड’ र अर्को डा. स्वर्णिम वाग्ले ब्रान्ड हो।’
आर्थिक विधेयकसँग सम्बन्धित १६ पृष्ठ गायब भएको विषयलाई अनावश्यक रूपमा विवादित बनाइएको उनको भनाइ थियो। उक्त विषयमा भएका त्रुटिहरूलाई सामान्य सुद्धासुद्धीको प्रक्रियामार्फत सच्याउन सकिने भए पनि त्यसलाई आधार बनाएर अर्थमन्त्रीमाथि छानबिन समिति गठन गर्नुपर्ने माग उठाइनु उपयुक्त नभएको उनले बताए।
सुनारले पछिल्लो समय अर्थमन्त्रीलाई निरन्तर आलोचनाको केन्द्रमा राख्ने र सार्वजनिक रूपमा कठघरामा उभ्याउने प्रयास भइरहेको टिप्पणी गरे। ‘यस विषयलाई लिएर डा. स्वर्णिम वाग्लेले खिन्न हुनुपर्ने वा मन कमजोर बनाउने कुनै कारण म देख्दिनँ,’ उनले भने।
भन्सारमार्फत आयात गरिएका सवारीसाधनको प्रक्रियाबारे पनि अनावश्यक शंका नगर्न उनले आग्रह गरे। आयात प्रक्रिया पारदर्शी ढंगले सम्पन्न भएको दाबी गर्दै उनले तथ्यभन्दा अनुमानका आधारमा प्रश्न उठाउनु उचित नहुने बताए।
आफू अर्थशास्त्रको विज्ञ नभएको उल्लेख गर्दै सांसद सुनारले अर्थ क्षेत्रका विज्ञहरूको सुझाव र अध्ययनका आधारमा तयार गरिएको बजेटमाथि बिना आधार शंका गर्ने प्रवृत्ति उचित नभएको धारणा राखेका हुन्।
प्रकाशित मिति: २८ जेष्ठ २०८३, बिहिबार













प्रतिक्रिया