काठमाडौं। नेकपा नेता वर्षमान पुनले बजेटसँग सम्बन्धित विधेयकमा मन्त्रिपरिषद्ले स्वीकृत गरिसकेपछि हेरफेर गरिएको विषय गम्भीर भएको भन्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिनको माग गरेका छन् ।
संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पुनले विधेयकका केही पृष्ठहरू संसद्मा नै हेरफेर गरिएको स्वीकार गरेकाले यसले विधि, प्रक्रिया र नैतिकताको प्रश्न उठाएको बताए ।
उनले भने, “अर्थमन्त्रीले मन्त्रिपरिषद्ले स्वीकृत गरेको दस्तावेजमा एकल रूपमा हेरफेर गरेको भए नैतिक रूपमा पदमा बसिरहन मिल्दैन । प्रधानमन्त्रीले हटाउनुपर्छ वा राजीनामा माग्नुपर्छ ।”
पुनले विगतमा केपी शर्मा ओली नेतृत्वको सरकारका बेला मन्त्रिपरिषद्ले पारित गरेको विधेयकमा संशोधन गर्न खोज्दा तत्कालीन उद्योगमन्त्री मातृका यादव विवादमा परेको उदाहरण दिए ।
अन्ततः मन्त्रिपरिषद्को निर्णयअनुसार नै विधेयक पेश गरिएको स्मरण गराए ।
उनले बजेट निर्माण प्रक्रियामा पारदर्शिता र विश्वसनीयता कायम गर्न संसदीय छानबिन आवश्यक रहेको बताए ।
दिवंगत पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको पालामा बजेट चुहावटको विषय उठेपछि संसदीय छानबिनमार्फत बजेट निर्माण प्रक्रिया थप व्यवस्थित र वैज्ञानिक बनाइएको पनि उनले उदाहरण दिए ।
पुनले अर्थमन्त्रीले विगतका बजेटसमेत छानबिन गर्ने चुनौती दिएको भन्दै आफूले ल्याएको बजेटसमेत अनुसन्धान गर्न तयार रहेको बताए ।
प्रकाशित मिति: २९ जेष्ठ २०८३, शुक्रबार












प्रतिक्रिया