काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार औपचारिक भ्रमणका लागि चीन प्रस्थान गर्ने भएका छन्। चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनी जेठ ३१ गते बेइजिङ जाने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

भ्रमणका क्रममा मन्त्री खनालले समकक्षी वाङ यीसहित चीन सरकारका उच्च अधिकारीहरूसँग द्विपक्षीय हित, आर्थिक सहकार्य तथा आपसी सम्बन्धका विविध विषयमा भेटवार्ता गर्नेछन्।

advertisement

बेइजिङ बसाइका क्रममा उनले नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनमा सहभागिता जनाउने तथा चिनियाँ व्यवसायीहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम पनि रहेको छ। चारदिने भ्रमण सम्पन्न गरी मन्त्री खनाल असार ३ गते स्वदेश फर्कनेछन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएपछि मन्त्री खनालको यो तेस्रो विदेश भ्रमण हुनेछ। नेपाल–चीन सम्बन्ध तथा द्विपक्षीय विकास साझेदारीका विषयमा चासो बढिरहेका बेला उनको चीन भ्रमणलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।

विशेषगरी चीनको महत्वाकांक्षी बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतका परियोजनाहरूको कार्यान्वयनबारे पनि भ्रमणका क्रममा छलफल हुन सक्ने अपेक्षा गरिएको छ। यद्यपि बीआरआई कार्यान्वयनका लागि आवश्यक फ्रेमवर्कमा हस्ताक्षर भइसके पनि विभिन्न कारणले परियोजनाहरूले अपेक्षित गति लिन सकेका छैनन्।

गत वर्ष बेइजिङमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन परराष्ट्रमन्त्री आरजु राणाको उपस्थितिमा नेपाल र चीनबीच बीआरआई कार्यान्वयनसम्बन्धी फ्रेमवर्कमा हस्ताक्षर भएको थियो। त्यसयता परियोजनाहरूलाई कार्यान्वयन चरणमा लैजान दुवै पक्षबीच निरन्तर संवाद भइरहेका छन्।

प्रकाशित मिति: २९ जेष्ठ २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com