काठमाडौं । सरकारले पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा शुक्रबार देखिएको सीमा विवादसम्बन्धी घटनालाई प्रधानमन्त्री बालेन्द्र शाहको हालैको अभिव्यक्तिसँग जोडेर हेर्न नहुने स्पष्ट गरेको छ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले सुस्तामा देखिने यस्ता समस्या नयाँ नभई लामो समयदेखि दोहोरिँदै आएको बताए।

advertisement

उनले सुस्तावासी नेपाली नागरिकले सीमावर्ती क्षेत्रको संरक्षणमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै राज्यले उनीहरूको भूमिकाको सम्मान गर्नुपर्ने बताए।

‘पश्चिम नवलपरासीको सुस्ता क्षेत्रका नागरिकहरूले वर्षौँदेखि आफ्नो भूमि र अस्तित्वको रक्षा गर्दै आएका छन्। उहाँहरूको समर्पण र योगदानप्रति हामी सम्मान व्यक्त गर्दछौँ,’ पोखरेलले भने, ‘यस विषयमा आवश्यक कूटनीतिक तथा प्रशासनिक पहल परराष्ट्र मन्त्रालयमार्फत अघि बढाइनेछ।’

प्रधानमन्त्रीको अभिव्यक्तिले स्थानीयवासीको मनोबल बढाएर पछिल्लो घटना निम्त्याएको हो कि भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले त्यसलाई अस्वीकार गरे।

‘यो कुनै नयाँ समस्या होइन। सुस्तामा यस्ता विषय विगतदेखि नै उठ्दै आएका छन्। त्यसैले यसलाई कुनै एक अभिव्यक्तिको परिणामका रूपमा व्याख्या गर्नु उचित हुँदैन,’ उनले भने।

शुक्रबार सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) का सुरक्षाकर्मी प्रवेश गरेको भन्दै स्थानीय स्तरमा विवाद उत्पन्न भएको थियो। घटनापछि त्यस क्षेत्रको अवस्थाबारे सम्बन्धित निकायहरूले जानकारी संकलन गरिरहेका छन्।

प्रकाशित मिति: २९ जेष्ठ २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com