काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता तथा संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले पार्टीभित्र रहेका कमजोरीहरूको आत्मसमीक्षा गर्दै नयाँ विचार, नीति र कार्यदिशाका आधारमा एमालेलाई पुनर्गठन गर्नुपर्ने बताएका छन्।
शुक्रबार एमाले बागमती प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले हाल विपक्षी शक्तिहरूले प्राप्त गरेको राजनीतिक उपलब्धि एमालेका कमजोरीका कारण सम्भव भएको दाबी गरे। उनले उक्त सफलतालाई दीर्घकालीन नभई अस्थायी भएको उल्लेख गर्दै संगठनात्मक सुदृढीकरण र वैचारिक पुनर्निर्माणमार्फत एमालेलाई पुनः निर्णायक शक्तिका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए।
‘हाम्रा कमजोरीहरूले अरूलाई अवसर दिएको हो। तर त्यो स्थायी अवस्था होइन,’ थापाले भने, ‘पार्टीलाई नयाँ सोच, स्पष्ट नीति र बलियो संगठनात्मक आधारमा पुनर्संरचना गर्न सक्यौँ भने आगामी दिनमा विजय पुनः सुनिश्चित गर्न सकिन्छ।’
उनले वर्तमान राजनीतिक अवस्थालाई प्रतिगमनपछिको संक्रमणकालीन अवस्था भन्दै भदौ २४ मा भएको राजनीतिक घटनाक्रमलाई संवैधानिक अभ्यासविपरीत भएको दाबी गरे। त्यसलाई क्रान्तिको रूपमा व्याख्या गर्न नसकिने उनको भनाइ थियो।
थापाले फागुन २१ पछि गठन भएको वर्तमान सरकारमाथि लोकतान्त्रिक मूल्य–मान्यताविपरीत काम गरिरहेको आरोप लगाए। उनका अनुसार सरकारले नागरिकका मौलिक अधिकारहरू संकुचित गर्ने प्रयास गरेको छ भने सुकुम्बासी समुदायप्रति पनि दमनकारी व्यवहार देखाएको छ।
‘वर्तमान सरकारका गतिविधिहरूले लोकतान्त्रिक संस्थाहरूको गरिमा कमजोर बनाउने संकेत देखाएका छन्,’ उनले भने, ‘गणतान्त्रिक व्यवस्थाप्रति सम्मान र संवैधानिक संस्थाप्रति उत्तरदायित्व आवश्यक छ।’
सीमा र राष्ट्रियतासम्बन्धी विषयमा प्रधानमन्त्रीले हालै दिएको अभिव्यक्तिको पनि थापाले आलोचना गरे। उनले उक्त अभिव्यक्तिले राष्ट्रिय हित र कूटनीतिक संवेदनशीलतामाथि प्रश्न उठाएको टिप्पणी गर्दै त्यसलाई सत्ता राजनीतिसँग जोडेर व्याख्या गरे।
यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिको हालैको भारत भ्रमण र त्यहाँ भएको उच्चस्तरीय भेटघाटप्रति पनि थापाले चासो व्यक्त गरे। उनले त्यसलाई सामान्य राजनीतिक भ्रमणभन्दा फरक रूपमा व्याख्या गर्दै नेपालको आन्तरिक राजनीतिमा बाह्य शक्तिहरूको सम्भावित रुचिबारे प्रश्न उठाए। ‘यही अवस्थामा रास्वपाका सभापति भारत जानुभयो । एउटा पार्टीको अध्यक्षलाई प्रधानमन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार तथा सत्तारूढ पार्टीका ठुला नेताहरूले भव्य स्वागत गरे, त्यो हामी सबैले टेलिभिजनमा देख्यौँ,’ थापाले भने, ‘यसको राजनीतिक अर्थ के हो भने उनीहरू अहिलेको विद्यमान नेतृत्वसँग सन्तुष्ट छैनन् र नेपालको नेतृत्वमा अरू कसैलाई स्थापित गर्न मद्दत गर्न चाहन्छन् भन्ने सङ्केत देखिन्छ ।’ बाह्य शक्तिहरू नेपालको वर्तमान नेतृत्वसँग असन्तुष्ट रहेर नयाँ नेतृत्व स्थापित गर्न इच्छुक देखिएको उनको दाबी थियो ।
कार्यक्रममा बोल्दै थापाले राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक मूल्य र पार्टी सुदृढीकरणलाई आगामी राजनीतिक कार्यदिशाको केन्द्रमा राख्नुपर्ने आवश्यकता औँल्याएका थिए।
प्रकाशित मिति: २९ जेष्ठ २०८३, शुक्रबार













प्रतिक्रिया