काठमाडौं । सुस्ता क्षेत्रमा भारतीय प्रहरी प्रवेश गरेको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन गरेर घर फर्कँदै गरेका राष्ट्रिय जेनजी नागरिक अभियानका दुई अभियन्तालाई प्रहरीले नियन्त्रणमा लिएको भन्दै अभियानले आपत्ति जनाएको छ।
अभियानका अनुसार अभियन्ता अजय सोडारी र वीरजंग विकलाई काठमाडौंको कालोपुल क्षेत्रबाट नियन्त्रणमा लिएर सिंहदरबार वृत्तको हिरासतमा राखिएको छ।
शुक्रबार माइतीघर मण्डलामा आयोजित विरोध प्रदर्शनमा सहभागीहरूले सुस्ता क्षेत्रमा भारतीय प्रहरी प्रवेश गरेको विषयमा असन्तुष्टि जनाउँदै “भारतीय दादागिरी बन्द गर” लगायतका नारा लगाएका थिए।
राष्ट्रिय जेनजी नागरिक अभियानले शान्तिपूर्ण विरोधमा सहभागी व्यक्तिहरूलाई कार्यक्रमस्थलबाट फर्किने क्रममा पक्राउ गरिएको भन्दै यसलाई नागरिकको अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक अधिकारमाथिको हस्तक्षेप भएको दाबी गरेको छ।
अभियानले दुवै अभियन्ताको तत्काल रिहाइको माग गर्दै पक्राउबारे स्पष्ट कानुनी आधार सार्वजनिक गर्न सरकार र सम्बन्धित निकायसँग आग्रह गरेको छ।
प्रहरीले उनीहरूलाई कुन आरोप वा कानुनी आधारमा नियन्त्रणमा लिएको हो भन्ने विषयमा आधिकारिक विवरण आउन बाँकी छ।
प्रकाशित मिति: ३० जेष्ठ २०८३, शनिबार













प्रतिक्रिया