एजेन्सी । भारतको असम राज्यस्थित जोरहाटको रौरिया सैन्य विमानस्थलमा शनिबार बिहान भारतीय वायुसेनाको एक मालवाहक विमान दुर्घटनाग्रस्त हुँदा पाइलटसहित पाँच सैनिकको मृत्यु भएको छ। दुर्घटनामा एक सह–पाइलट घाइते भएका छन्।

भारतीय वायुसेनाले सार्वजनिक गरेको विवरणअनुसार ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र अग्निवीरवायु दानिस आलम रहेका छन्। घाइते सह–पाइलटको उपचार जारी रहेको जनाइएको छ।

advertisement

विमान बिहान करिब १० बजे रौरिया एयरबेसमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो। अवतरणको प्रयास गरिरहेकै बेला विमानमा आगलागी भएको र केही क्षणमै दुई टुक्रामा विभाजित भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

दुर्घटनाग्रस्त विमान सैनिक तथा सैन्य सामग्री ढुवानीका लागि प्रयोग हुने मालवाहक विमान रहेको बताइएको छ। दुर्घटनाको कारण भने हालसम्म खुल्न सकेको छैन।

भारतीय वायुसेनाले उक्त विमान नियमित उडानमा रहेको जानकारी दिँदै घटनाको विस्तृत छानबिनका लागि ‘कोर्ट अफ इन्क्वायरी’ गठन गरिएको जनाएको छ। प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्वजनिक नहुँदासम्म कुनै पनि अनुमान वा अड्कलबाजी नगर्न वायुसेनाले आग्रह गरेको छ।

यसैबीच, समाचार एजेन्सी एएनआईका अनुसार भारतीय वायुसेना आफ्ना पुराना मालवाहक विमानहरूलाई क्रमशः आधुनिक विमानद्वारा प्रतिस्थापन गर्ने तयारीमा छ। सैनिक, हतियार तथा अन्य सैन्य सामग्रीको सुरक्षित ढुवानी सुनिश्चित गर्न नयाँ ‘मिडियम ट्रान्सपोर्ट एयरक्राफ्ट’ खरिद गर्ने योजना समेत अघि बढाइएको बताइएको छ।

प्रकाशित मिति: ३० जेष्ठ २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com