काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले पछिल्लो समय उदाएका वैकल्पिक राजनीतिक शक्तिहरू वैचारिक आधारभन्दा लोकप्रियतामुखी प्रवृत्तितर्फ उन्मुख भएको टिप्पणी गरेका छन्।
नयाँ शक्तिको स्थापना दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष राउतले राजनीतिमा विचार, सिद्धान्त र नैतिकताभन्दा ‘सेलेब्रिटी संस्कृति’ तथा तर्कहीन लोकप्रियताको प्रभाव बढ्दै गएको बताए। उनले वर्तमान राजनीतिक अवस्थालाई ‘वैचारिक शून्यताको युग’को संज्ञा दिँदै लोकतान्त्रिक बहसको स्तर खस्किँदै गएको चिन्ता व्यक्त गरे।
राउतका अनुसार सामाजिक सञ्जालमा बढ्दो गालीगलौज, तथ्यहीन टिप्पणी र उत्तेजनात्मक बहसले लोकतान्त्रिक संस्कृतिलाई कमजोर बनाइरहेको छ। विचार र सिद्धान्तको आधारमा राजनीति सञ्चालन हुनुपर्नेमा व्यक्तिपूजा र भीडको मनोविज्ञान हाबी हुन थालेको उनको भनाइ थियो।
संसदीय प्रणाली र लोकतान्त्रिक मूल्य–मान्यताप्रति सम्मान घट्दै गएको उल्लेख गर्दै उनले प्रधानमन्त्री संसदमा उपस्थित भई जनप्रतिनिधिहरूका प्रश्नको जवाफ दिनु लोकतान्त्रिक अभ्यासको अनिवार्य पक्ष भए पनि त्यसलाई अनावश्यक ठान्ने प्रवृत्ति बढ्नु चिन्ताजनक रहेको बताए।
अध्यक्ष राउतले पछिल्लो समय राज्यले अपनाएको ‘डोजर संस्कृति’को समेत आलोचना गरे। अवैध संरचना व्यवस्थापनका नाममा अर्बौँ रुपैयाँ बराबरका भौतिक सम्पत्ति भत्काउनु विकासको संकेत नभई राष्ट्रिय सम्पत्तिको क्षति भएको उनको तर्क थियो। उनका अनुसार कानुनविपरीत निर्माण भएका संरचनाको व्यवस्थापन राज्यले विधिसम्मत ढंगले गर्नुपर्छ, विनाशलाई उपलब्धिका रूपमा प्रस्तुत गर्नु उचित होइन।
पुराना पुस्ताका राजनीतिक नेताहरूले लोकतन्त्र स्थापनाका लागि लामो संघर्ष, जेल जीवन र त्याग गरेको उल्लेख गर्दै राउतले नयाँ पुस्ताले त्यसको मूल्य र योगदानको पर्याप्त मूल्याङ्कन गर्न नसकेको बताए।
उनले आफूहरूले वैचारिक रूपमा स्पष्ट र जनतामुखी वैकल्पिक शक्ति निर्माण गर्ने लक्ष्य राखे पनि वर्तमान राजनीतिक परिवेशमा विचारभन्दा प्रचार र छवि निर्माणलाई बढी महत्व दिइएको टिप्पणी गरे।
साथै, प्रविधि र आधुनिक सञ्चार माध्यमको प्रयोगमा आफूहरू पछाडि परेको स्वीकार गर्दै राउतले नयाँ पुस्ताको सोच, चाहना र अपेक्षाअनुसार राजनीतिक दलहरूले आफूलाई समयानुकूल रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याए।
विचार, सिद्धान्त र दीर्घकालीन दृष्टिकोणविहीन राजनीतिले देशलाई सही दिशामा लैजान नसक्ने भन्दै उनले राजनीतिक दलहरूभित्र गम्भीर आत्मसमीक्षा र सुधारको खाँचो रहेको बताए।
प्रकाशित मिति: ३० जेष्ठ २०८३, शनिबार












प्रतिक्रिया