एजेन्सी । दक्षिण लेबनानका विभिन्न क्षेत्रहरूमा इजरायलले व्यापक हवाई आक्रमण गरेको छ। लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) का अनुसार इजरायली सेनाले निकासी चेतावनी जारी गरेको केही समयपछि नबातियाह शहरसहित कम्तीमा २० स्थानमा हवाई आक्रमण गरेको हो।
एनएनएका अनुसार नबातियाह क्षेत्रसँगै रिहान र सुजुडलगायतका गाउँहरू पनि आक्रमणको निशानामा परेका छन्। यी क्षेत्रहरू इजरायली सेनाले पूर्वसूचना जारी गरेका स्थानहरूमा पर्ने बताइएको छ।
आक्रमणअघि इजरायली सेनाले स्थानीय बासिन्दालाई तत्काल घर छाड्न र इजरायल–लेबनान सीमाबाट करिब ४५ किलोमिटर उत्तरतर्फ पर्ने जहरानी नदी क्षेत्रभन्दा माथि सुरक्षित स्थानमा सर्न आग्रह गरेको थियो। गत महिना इजरायलले जहरानी नदीको दक्षिणी क्षेत्रलाई ‘युद्ध क्षेत्र’ घोषणा गरेको थियो।
स्थानीय सञ्चारमाध्यमहरूका अनुसार शुक्रबार रातिदेखि नै अली ताहेर पहाड आसपास विस्फोट र गोलाबारीका घटनाहरू भइरहेका थिए। यसबीच हेजबुल्लाहले आफ्ना लडाकुहरूले दक्षिणी लेबनानतर्फ अघि बढिरहेका इजरायली सैनिकसँग भिडन्त गरिरहेको दाबी गरेको छ।
इजरायल र हेजबुल्लाहबीच लामो समयदेखि जारी द्वन्द्व पछिल्ला महिनाहरूमा थप तीव्र बनेको छ। इरान समर्थित हेजबुल्लाहले इजरायलमाथि रकेट आक्रमण जारी राखेको छ भने इजरायलले त्यसको जवाफमा लेबनानी भूभागमा सैन्य कारबाही तीव्र बनाएको छ।
लेबनानी अधिकारीहरूका अनुसार इजरायली आक्रमणका कारण हालसम्म तीन हजार ७०० भन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ। यद्यपि दुवै पक्षबीच यसअघि घोषणा गरिएको युद्धविराम र कूटनीतिक पहलहरू प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेका छैनन्।
हेजबुल्लाहले अमेरिका तथा अन्य अन्तर्राष्ट्रिय पक्षको मध्यस्थतामा प्रस्ताव गरिएका केही वार्ता र सशर्त सम्झौताहरू अस्वीकार गर्दै आएको छ। प्रस्तावित सम्झौताअन्तर्गत हेजबुल्लाहले आक्रमण रोक्ने र इजरायलले लेबनानी भूभागबाट सेना फिर्ता लैजाने व्यवस्था समावेश रहेको बताइएको छ।
यसैबीच, एक वरिष्ठ अमेरिकी अधिकारीले मध्यपूर्वमा जारी द्वन्द्वको दीर्घकालीन समाधानका लागि लेबनानलाई समेटेर व्यापक सम्झौता आवश्यक रहेको बताएका छन्। तर लेबनानका केही नेताहरूले इरानमाथि आफ्नो राष्ट्रिय स्वार्थलाई क्षेत्रीय शक्ति संघर्षको माध्यम बनाएको आरोप लगाएका छन्।
हेजबुल्लाहका सांसद अली फयादले लेबनानले युद्ध अन्त्यका लागि उपलब्ध कूटनीतिक अवसरहरूको उपयोग गर्नुपर्ने बताएका छन्। लेबनानका राष्ट्रपति जोसेफ आउनले पनि देशले हाल ‘अत्यन्त कठिन र संवेदनशील परिस्थिति’ सामना गरिरहेको उल्लेख गर्दै राष्ट्रिय एकता र संयमताको आवश्यकता औँल्याएका छन्।
प्रकाशित मिति: ३० जेष्ठ २०८३, शनिबार












प्रतिक्रिया