काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बस्ती व्यवस्थापन तथा स्थानान्तरणका क्रममा भएका त्रुटिहरूलाई सरकारले समयमै सच्याउनुपर्ने बताएका छन्। उनले नागरिकसँग गरिएका प्रतिबद्धता पूरा नगरी बस्ती हटाउने निर्णय गर्नु उपयुक्त नहुने धारणा व्यक्त गरे।

शनिबार काठमाडौं महानगरपालिका–८ ले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै थापाले केही स्थानमा स्थानीयवासीसँग पूर्वसहमति र प्रतिबद्धता पूरा नगरी बस्ती खाली गराउने प्रयास भएको उल्लेख गर्दै यस्ता विषयमा सरकार संवेदनशील हुनुपर्ने बताए।

advertisement

उनले लोकतान्त्रिक व्यवस्थामा सरकारले गरेका निर्णयहरू अपरिवर्तनीय हुँदैनन् भन्ने मान्यता स्थापित हुनुपर्नेमा जोड दिए। नागरिकले कुनै निर्णयप्रति असन्तुष्टि वा प्रश्न उठाए त्यसलाई सुन्ने र आवश्यक परे पुनर्विचार गर्ने संस्कार लोकतन्त्रको मूल मर्म भएको उनको भनाइ थियो।

सभापति थापाले विशेषगरी पशुपति क्षेत्र आसपासका पुराना बस्ती हटाउने विषयमा सरकार गम्भीर र संवेदनशील बन्नुपर्ने आवश्यकता औँल्याए। स्थानीय समुदाय, संस्कृति, परम्परा र सामाजिक संरचनालाई पर्याप्त अध्ययन नगरी हतारमा निर्णय गर्दा त्यसको असर केवल बासिन्दामाथि मात्र नभई सांस्कृतिक सम्पदा, जात्रा–पर्व र स्थानीय पहिचानमा समेत पर्ने उनले बताए।

पशुपति क्षेत्रका ऐतिहासिक तथा परम्परागत बस्तीहरू केवल आवासीय क्षेत्र मात्र नभई स्थानीय संस्कृति र जीवनशैलीका अभिन्न हिस्सा भएको उल्लेख गर्दै थापाले यस्ता बस्ती हटाउँदा त्यससँग जोडिएका सामाजिक र सांस्कृतिक मूल्यहरू समेत हराउने जोखिम रहेको बताए।

उनले विकास र व्यवस्थापनका नाममा स्थानीय समुदायको अस्तित्व, परम्परा र सांस्कृतिक सम्पदालाई बेवास्ता गर्न नहुने भन्दै सरकारलाई यस विषयमा पुनर्विचार गर्न आग्रह गरे।

उक्त कार्यक्रममा काठमाडौं महानगरपालिका–८ क्षेत्रमा बसोबास गर्दै विभिन्न क्षेत्रमार्फत समाजमा योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।

प्रकाशित मिति: ३० जेष्ठ २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com