वीरगन्ज । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार जनअपेक्षाअनुसार काम गर्न असफल भएको आरोप लगाएका छन्।
शनिबार वीरगन्जमा आयोजित पार्टीको मधेश प्रदेश विस्तारित बैठकलाई सम्बोधन गर्दै साहले दुई तिहाइ जनमतको समर्थन पाएर सरकारमा पुगेको नेतृत्वले सुशासन, सदाचार र जनउत्तरदायित्वका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्न नसकेको दाबी गरे।
उनले सरकारले सुशासनको नारा दिए पनि व्यवहारमा त्यसको प्रभाव देखिन नसकेको टिप्पणी गरे। साथै, बजेटले जनताको आशा जगाउन नसकेको, विकास निर्माण, रोजगारी, कृषि र उद्योग क्षेत्रलाई पर्याप्त प्राथमिकता नदिएको आरोप लगाए।
पूर्वमन्त्री प्रभु साहले वर्तमान सरकारले मधेश र वीरगन्जलाई उपेक्षा गरेको दाबी गर्दै विकास बजेट तथा पूर्वाधार योजनाको वितरणमा विभेद भएको आरोप पनि लगाए। राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्यायका क्षेत्रमा समेत सरकार अपेक्षाअनुसार अघि बढ्न नसकेको उनको भनाइ थियो।
युवा नेतृत्वप्रति जनताले ठूलो आशा राखे पनि सरकार गठन भएको छोटो समयमै निराशा बढ्नु चिन्ताजनक भएको उल्लेख गर्दै उनले सरकारका कामकारबाहीमा सुधार आवश्यक रहेको बताए।
प्रकाशित मिति: ३० जेष्ठ २०८३, शनिबार












प्रतिक्रिया