कैलाली । गोदावरी नगरपालिका–४ स्थित गाईमारे चुरे वन क्षेत्रमा टेम्पो भीरबाट खसालिएको घटनाबारे डिभिजन वन कार्यालयले आफ्नो धारणा सार्वजनिक गर्दै उक्त घटना नियोजित नभई दुर्घटनावश भएको दाबी गरेको छ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा कार्यालयले वन कर्मचारीहरूले जानाजान वा कुनै पूर्वनियत उद्देश्यका साथ टेम्पोलाई भीरबाट नखसालेको स्पष्ट पारेको हो।
कार्यालयका अनुसार घटनामा संलग्न टेम्पो चल्ने अवस्थामा थिएन। यसको इन्जिन र चक्का पूर्ण रूपमा बिग्रिसकेको थियो भने उक्त सवारी साधन लामो समयदेखि वन क्षेत्र अतिक्रमण गरी बनाइएको अस्थायी टहरो तथा पसलका रूपमा प्रयोग हुँदै आएको थियो।
वरिष्ठ डिभिजनल वन अधिकृत डा. रामविचारी ठाकुरले गाईमारे क्षेत्र चुरे संरक्षणका दृष्टिले अत्यन्त संवेदनशील रहेको उल्लेख गर्दै वन अतिक्रमण नियन्त्रणका लागि नियमित अनुगमन तथा हटाउने अभियान सञ्चालन हुँदै आएको जानकारी दिए।
उनका अनुसार सार्वजनिक वन क्षेत्रलाई अवैध रूपमा कब्जा गरी खोका, छाप्रा तथा अस्थायी संरचना निर्माण गर्ने, तिनको किनबेचसमेत गर्ने गतिविधि लामो समयदेखि जारी रहेको छ। सोही क्रममा करिब पाँच महिनाअघि पुनः केही अवैध संरचनाहरू निर्माण भएको भेटिएपछि कार्यालयले आवश्यक कारबाही प्रक्रिया अघि बढाएको थियो।
वन कार्यालयले एक महिनाअघि नै सम्बन्धित पक्षलाई अतिक्रमित संरचना हटाउन निर्देशन दिएको जनाएको छ। अधिकांश संरचना हटाइए पनि घनश्याम धामीले प्रयोग गर्दै आएको उक्त टेम्पो भने हटाउन अटेर गरिएको कार्यालयको भनाइ छ।
कार्यालयका अनुसार यसअघि वन कर्मचारीहरूले सो टेम्पोलाई धकेलेर सम्बन्धित व्यक्तिको घरसम्म पुर्याइदिएका थिए। तर केही समयपछि पुनः त्यही स्थानमा ल्याएर पसल सञ्चालन गर्न थालिएको पाइएको थियो।
जेठ २९ गते अतिक्रमण हटाउने अभियान पुनः सञ्चालन गर्दा सम्बन्धित व्यक्तिले टेम्पो हटाउन अस्वीकार गरेको कार्यालयले जनाएको छ। ‘जे गर्नुपर्छ गर्नुस्, म हटाउँदिन’ भन्दै प्रतिरोध र गालीगलौज भएपछि वन कर्मचारीहरूले चल्न नसक्ने अवस्थामा रहेको टेम्पोलाई हटाउने प्रयास गरेका थिए।
कार्यालयका अनुसार सो क्रममा भिरालो भू–बनावट, असन्तुलित अवस्था तथा नियन्त्रण गुम्न पुगेकाले टेम्पो अनियन्त्रित भई भीरबाट खसेको हो। घटनामा कुनै कर्मचारीको नियतवश संलग्नता नरहेको कार्यालयले दाबी गरेको छ।
वन कार्यालयले आफ्ना कर्मचारीहरू वन संरक्षण, चुरे क्षेत्रको सुरक्षा तथा अतिक्रमण नियन्त्रणसम्बन्धी कानुनी जिम्मेवारी निर्वाह गरिरहेको उल्लेख गर्दै घटनालाई तथ्यभन्दा फरक ढंगले प्रस्तुत नगर्न आग्रह गरेको छ।
साथै, चुरे क्षेत्रको संरक्षण र सार्वजनिक वनको सुरक्षा सबै सरोकारवालाको साझा दायित्व भएकाले वन अतिक्रमणविरुद्धको अभियानलाई सहयोग गर्न कार्यालयले स्थानीयवासीसँग अनुरोध गरेको छ।
प्रकाशित मिति: ३१ जेष्ठ २०८३, आइतबार













प्रतिक्रिया