एजेन्सी । ब्राजिलमा बन्जी जम्पका क्रममा भएको गम्भीर लापरबाहीका कारण २१ वर्षीया एक युवतीको ज्यान गएको छ। सुरक्षा डोरी नै नबाँधी पुलबाट हाम फाल्न लगाइएपछि युवतीको घटनास्थलमै मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

घटना साओ पाउलो राज्यको लिमेइरा क्षेत्रमा रहेको ‘स्केलेटन ब्रिज’मा भएको हो। मृतक युवतीको पहिचान मारिया एडुआर्डा रोड्रिग्स डे फ्रिटासका रूपमा गरिएको छ।

advertisement

सार्वजनिक भएका भिडियो दृश्यहरूमा दुई जना कर्मचारीले मारियालाई पुलको किनारासम्म पुर्‍याएर तल हाम फाल्न सहयोग गरेको देखिन्छ। तर, प्रारम्भिक अनुसन्धानअनुसार उनीमाथि अनिवार्य रूपमा बाँधिनुपर्ने सुरक्षा डोरी नै जडान गरिएको थिएन।

युवती पुलबाट खसेको केही क्षणमै घटनास्थलमा उपस्थित व्यक्तिहरूले ‘डोरी, डोरी’ भन्दै चिच्याएको आवाज भिडियोमा सुनिन्छ। त्यसपछि मात्र कर्मचारीहरूलाई सुरक्षा प्रक्रियामा गम्भीर त्रुटि भएको थाहा भएको बताइएको छ।

घटनाभन्दा केही समयअघि मारियाले बन्जी जम्पका लागि तयार भएको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन्। उनले आफ्नो इन्स्टाग्राम स्टोरीमा पुलको तस्वीरसहित रमाइलो शैलीमा ‘मलाई पुलबाट हाम फाल्न दिने त्यो पागल व्यक्ति को थियो ?’ भन्ने सन्देश लेखेकी थिइन्।

दुर्घटनालगत्तै उद्धार तथा आपत्कालीन सेवा टोली घटनास्थलमा पुगे पनि उनलाई बचाउन सम्भव नभएको जनाइएको छ। स्वास्थ्यकर्मीहरूले घटनास्थलमै उनको मृत्यु भएको घोषणा गरेका थिए।

पछि उद्धारकर्ताहरूले युवतीको शव खोंचबाट निकालेर पोस्टमार्टम तथा थप अनुसन्धानका लागि सम्बन्धित फरेन्सिक निकायमा पठाएका छन्।

घटनापछि प्रहरीले बन्जी जम्प सञ्चालनमा संलग्न व्यक्तिहरूमाथि अनुसन्धान थालेको छ। प्रारम्भिक चरणमा घटनास्थलबाटै ६ जना कर्मचारीलाई नियन्त्रणमा लिइएको छ। उनीहरूमाथि आपराधिक लापरबाही वा अन्य कानुनी दायित्व आकर्षित हुने विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

सुरक्षा मापदण्डको पालना नगरिँदा भएको यस घटनाले साहसिक खेलकुद तथा मनोरञ्जनात्मक गतिविधिमा सुरक्षा व्यवस्थाको गम्भीर प्रश्न उठाएको छ।

प्रकाशित मिति: ३१ जेष्ठ २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com