काठमाडौं । नयाँ पार्टी गठनको तयारीमा रहेका मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई राजा र धर्म साट्ने पार्टीको आरोप लगाएका छन् ।
आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रसाईंले राप्रपाले भोट लिने, सांसद बन्ने, भत्ता र सत्ताको गाडी चढ्ने काम मात्र गर्ने बताए । उनले भने, ‘राप्रपा भनेको राजा र धर्म साट्ने, भोट लिने, सांसद बन्ने, भत्ता खाने र गाडी चढ्ने मात्र हो । विकास र जनतासँग यसको के मतलब ?’
प्रसाईंले आफू सत्य बोल्न नडराउने बताए । उनले राजसंस्था फर्किने दिन पहेँलो लुगा लगाएर खप्तड गएर बस्ने समेत बताए । उनले वर्तमान बालेन शाह नेतृत्वको सरकार र रास्वपा पनि धेरै समय टिक्ने नदेखिएको दाबी गरे ।
‘कांग्रेस, एमाले, माओवादी र राप्रपा अब उठ्न सक्दैनन्,’ प्रसाईंले भने । उनले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई आइआरआईको सदस्य भएको आरोप लगाए ।
प्रसाईंले आमा, छोरी र देश बेच्नेहरू अपराधी भएको टिप्पणी गरे । उनले सुस्तामा जनताले नै सीमा रक्षा गर्नुपरेको अवस्था रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले दिएको अभिव्यक्ति गलत भएको बताए ।
उनले दरबार हत्याकाण्डको फाइल खोल्ने र जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिने विषयमा अध्ययन गर्ने पनि बताए ।
प्रकाशित मिति: ३१ जेष्ठ २०८३, आइतबार












प्रतिक्रिया