विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र लोकतान्त्रिक मूल्य–मान्यता कमजोर हुँदै गएको भन्दै निरंकुश प्रवृत्ति देखिन थालेको आरोप लगाएका छन्।
विराटनगरमा संस्थापन इतर समूहद्वारा आयोजित एकता भेलालाई सम्बोधन गर्दै उनले कांग्रेसको ऐतिहासिक उद्देश्य लोकतन्त्रको स्थापना र निरंकुशताको अन्त्य भए पनि वर्तमान अभ्यास त्यसको विपरीत दिशामा गएको टिप्पणी गरे।
उनका अनुसार पछिल्लो समय देशभर वडास्तरका सभापतिहरूलाई समेत पर्याप्त प्रक्रिया बिना मौखिक रूपमा पदमुक्त गर्ने जस्ता गतिविधि देखिन थालेका छन्, जसले पार्टीभित्र लोकतान्त्रिक अभ्यास कमजोर भएको संकेत गर्छ।
‘कांग्रेसको जन्म नै लोकतन्त्र र स्वतन्त्रताको लागि भएको हो,’ कोइरालाले भने, ‘तर अहिले अद्यावधिक नगरेको बहानामा वडास्तरका नेतृत्व हटाइने प्रवृत्ति देखिएको छ, यो निरंकुशताको सुरुवात हो।’
उनले कांग्रेसभित्र सहमति, सहकार्य र एकताको वातावरण अपरिहार्य रहेको उल्लेख गर्दै यिनै आधारमा पार्टीलाई अघि बढाउनुपर्ने आवश्यकता औँल्याए।
‘एकता बिना कांग्रेस अगाडि बढ्न सक्दैन,’ उनले भने, ‘कांग्रेस कमजोर हुँदा लोकतन्त्र मात्र होइन, देशको सार्वभौमिकता र अखण्डतासमेत कमजोर हुन्छ।’
कोइरालाले सामाजिक सञ्जालमा आउने प्रतिक्रियाको पछि नलाग्न आग्रह गर्दै पार्टीका मूल मुद्दा संगठनात्मक सुधार र आन्तरिक संवादमा केन्द्रित हुनुपर्ने धारणा राखे।
उनले सभापति गगन थापा सँग भएको छलफलपछि ५ बुँदे प्रस्ताव तयार गरिएको तर त्यसको एक महिनासम्म पनि समाधान ननिस्किएको बताए।
उनका अनुसार वर्तमान परिस्थितिमा कांग्रेसलाई यथास्थितिमा अगाडि बढाउन कठिन छ र तत्काल संगठनात्मक सुधार तथा आन्तरिक एकताको आवश्यकता छ।
प्रकाशित मिति: ३१ जेष्ठ २०८३, आइतबार












प्रतिक्रिया